ग्लोबल टी २०: सन्दीपले लिए दुई विकेट, दिपेन्द्रको ब्याट चलेन
काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० मा दुई नेपाली स्टार संलग्न भ्यानकुभर नाइट्सले लगातार दोस्रो हार व्यहोरेको छ । बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले पराजित गर्यो ।
पहिलो ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेट क्षतिमा १५३ रन जोडेको थियो । जवाफमा भ्यानकुभरले ६ विकेट क्षतिमा १३० रन मात्रै जोड्न सक्यो ।
नेपालका सन्दीप लामिछानेले बलिङमा सुखद प्रदर्शन गरे । उनले चार ओभरमा ३२ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए ।पहिलो ओेभरमा खराब बलिङ गर्दै १८ रन खर्चेका सन्दीपले त्यसपछिका २ ओेभरमा उत्कृष्ट कमब्याक गरेका हुन् ।
सातौं ओेभरमा बलिङ गर्दा सन्दीपले दुई छक्का र एक चौका खाएका थिए । एघारौं ओेभरमा दुई रनमात्र खर्चेर सकिब अल हसनको विकेट लिन सफल भए । ओेभरको अन्तिम बलमा उनले सकिबलाई एलबीडब्लु आउट गरेका थिए ।
१३ औ ओभरको पहिलो बलमा सन्दीपले डेभिड वाइसीलाई बोल्ड गरेपछि बंगला टाइगर्स धराशयी बनको थियो । तर पाकिस्तानी ब्याट्सम्यान इफ्तिकार अहमदले ६ विकेटमा ८५ रनको अवस्थाबाट उद्दार गर्दै १५३ को स्कोरमा पुर्याएका हुन् । उनले ४० दबलमा नटआउट ५० रन बनाए । सन्दीपले आफ्नो अन्तिम ओेभरमा ९ रन खर्चिए ।
जवाफी ब्याटिङमा भ्यानकुभरले ३१ रनमै ५ विकेट गुमाएको थियो । कप्तान उस्मान ख्वाजा पहिलो ओेभरको अन्तिम बलमा दुई रन बनाएर आउट भएपछि भ्यानकुभरको विकेट पतन सुरू भएको थियो । मुनिर अहमद शून्यमा, रिजा हेन्ड्रिक्स १० रनमा र आसिफ अली शुन्यमा आउट भए ।
छैटौ नम्बरमा आएका दिपेन्द्रको पनि ब्याट चलेन । उनी दुई बलमा एक रन बनाएर आउट भए । गुरपाल सिद्धुको बलमा विकेटकिपर रमानुल्लाह गुरवाजले उनलाई स्टम्पछाडि क्याच लिए ।
भ्यानकुभरका हर्ष ठाकरले एक्लो संघर्ष गर्दै ६७ बलमा ७९ रन बनाए पनि त्यो पर्याप्त भएन । सन्दीप लामिछाने २ बलमा १ रन बनाएर नटआउट रहे ।