काठमाडौंमा थुप्रिए कोशीका कांग्रेस सांसद, मन्त्री बन्न नेताहरूको घरदैलो चहार्दै – Nepal Press

काठमाडौंमा थुप्रिए कोशीका कांग्रेस सांसद, मन्त्री बन्न नेताहरूको घरदैलो चहार्दै

कांग्रेसले राख्यो मुख्यमन्त्रीमा आलोपालोको शर्त

विराटनगर । कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याउन कांग्रेसलाई सकस परेको छ । आकांक्षी धेरै र गुटउपगुटको किचलोले नाम टुंग्याउन सकस भएको एक नेताले बताए । उनकाअनुसार पार्टी सभापति देउवा निकटबाट २, डा. शेखर कोइरालानिकटका १ र कृष्ण सिटौला निकटबाट १ जनालाई मन्त्रिमण्डलमा पठाउने गरिको सहमति जुटेको छ । तर, कसलाई पठाउने भन्ने विषयमा भने पार्टी भित्र पेचिलो बहस सुरू भएको छ ।

कोशी प्रदेशमा कांग्रेसका २९ जना सांसद छन् । काठमाडौं पुगेर मन्त्री बनाइदिन उनीहरू आफूलाई च्याप्ने नेताहरूको घरदैलो चाहरिरहेका छन् । प्रदेश संसदीय दलको बैठकसमेत काठमाडौंमै बस्दै आएको छ ।

खोटाङका भूपेन्द्र राई, मोरङका भीम पराजुली, इलामका गोविन्द गिरी, मोरङकै मानबहादुर लिम्बू मन्त्रीको दौडमा छन् । यस्तै ताप्लेजुङका खगेनसिंह हाङ्गाम, झापाका भूमिप्रसाद राजवंशी, उदयपुरका हिमाल कार्की, ओखलढुङ्गाका प्रदीप सुनुवारलाई दाबेदारका रूपमा हेरिएको छ । मोरङकी शोभा चेम्जोङ, सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङका गयानन्द मण्डलले पनि दाबी गरिरहेका छन् ।

कार्की र सुनुवार दुवै यसअघि मन्त्री भइसकेका छन् । भूपेन्द्र र भीम सिटौला निकट हुन् । उनीहरूमध्ये एकजना मन्त्री बन्ने पक्का रहेको कांग्रेस स्रोत बताउँछ । कोइरालानिकटका गिरी र लिम्बू मध्ये एकजनाको सम्भावना रहेको बताइन्छ ।

देउवा निकटका धेरैजनाले दाबी गरेकाले नाम टुंग्याउन सकस देखिएको छ । कांग्रेसका अधिकांश सांसद काठमाडौं गएपछि सत्ता साझेदार एमालेका नेतासमेत छलफलका लागि काठमाडौं जानुपरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की मन्त्रालय र मन्त्रिमण्डल पुनर्गठनका लागि आवश्यक सहमति जुटाउन काठमाडौंमै छलफलमा छन् ।

हिजो काठमाडौं गएका उनी र कांग्रेस नेताहरूबीच मन्त्रालय बाँडफाँट मोटामोटी टुंगिएको छ । कांग्रेसलाई ४ वटा मन्त्रालय दिने सहमति भएको बताइन्छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालालय राख्नेछ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मंगलबारसम्म सबै विषयमा सहमति हुने बताए ।

मुख्यमन्त्रीमा आलोपालोको शर्त

मन्त्रीको नाम टुंग्याउन नसकेको कांग्रेसले मुख्यमन्त्री आलोपालो हुनुपर्ने शर्त अघि सारेको छ । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री छन् । अहिले कार्की नै मुख्यमन्त्री भए पनि केन्द्रमा ओलीपछि देउवाले नेतृत्व लिँदा प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने कांग्रेसको भनाइ छ ।

कांग्रेस सांसद भीम पराजुलीले सैद्धान्तिक रूपमा मुख्यमन्त्री पनि आलोपालो हुनुपर्ने बताए ।

उनले भने, ‘यो विषय छलफलमै छ । यस विषयमा दलका नेता उद्धव थापा र मुख्यमन्त्रीका बीचमा आज पनि छलफल हुँदैछ ।’

हिजोको छलफलमा आलोपालोको विषय शीर्ष नेताहरूको सहमतिअनुसार हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर