युरोपमा समस्या भोग्दै नेपाली श्रमिक र विद्यार्थी – Nepal Press

युरोपमा समस्या भोग्दै नेपाली श्रमिक र विद्यार्थी

भियना । पछिल्लो समय श्रमिकको रुपमा युरोप छिर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । प्रक्रियागत रुपमा वैधानिक बाटोबाट युरोप छिर्ने नेपाली श्रमिकहरुले कूटनैतिक समस्या भोग्नुपरेको बताएका छन् ।

नेपालबाट विभिन्न विज्ञापन गरेर म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुले युरोप छिराएका नेपाली श्रमिकहरुले पाउने सिजनल भिसा ६ देखि ८ महिनाको हुन्छ । जुन समयमा उनीहरुले सामान्यतया खेतबारीमा काम गर्छन् ।

तर युरोप आउने नेपाली श्रमिकहरुले म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुलाई १२ देखि १८ लाखसम्म बुझाउने गरेका छन् । युरोपमा ६ देखि ८ महिनाको श्रमिक सिजनल भिजामा आउनेले बढीमा ८ हजार युरो अर्थात् ११ लाख नेपाली रुपैयाँ कमाउन सक्छन् । जुन खर्चभन्दा कम हो ।

म्यानपावर कम्पनी, दलाल र बिचौलियाहरुले उनीहरुलाई सिजनल भिसा परिवर्तन हुने, श्रम स्वीकृति पाउने, भिसा आफैं थपिने, यति वर्षपछि परिवार लैजान पाउने जस्ता अनेकौं आश्वासन दिने गरेको श्रमिकहरु बताउछन् ।

युरोपमा विद्यार्थी भिसामा आउनेहरुको समस्या पनि श्रमिकहरुको जस्तै छ । सरकारी विश्वविद्यालयहरुमा तेस्रो मुलुकबाट आउने विद्यार्थीले शुल्क तिर्नपर्दैन वा एकदम न्यून शुल्क तिर्नुपर्छ, तर भर्ना प्रक्रिया केही लामो र झन्झटिलो छ ।

सरकारी विश्वविद्यालयहरुमा भर्ना पाएका विद्यार्थीहरुले भिसा पाउने सम्भावना बढी हुन्छ । विश्वविद्यालयहरुमा भर्ना पाउन विनाएजेन्ट नै आवेदन दिन सकिन्छ । भर्ना प्रक्रियाको बारेमा हरेक विश्वविद्यालयले आवश्यक जानकारी प्रस्टसँग आफ्नो वेबसाइटमा राखेको हुन्छ । सोसम्बन्धी जानकारी दिने कर्मचारीहरु हुन्छन्, सम्पर्क व्यक्तिको इमेल ठेगाना हुन्छ, तर विद्यार्थी भिसामा युरोप पठाउने एजेन्टहरु सरकारीभन्दा निजी विश्वविद्यालयहरुमा विद्यार्थी पठाउन जोड गर्ने गरेका छन् ।

युरोपमा अधिकांश निजी विश्वविद्यालय विदेशी लगानीमा खुलेका हुन्छन्, उनीहरु बढीभन्दा बढी विद्यार्थी भर्ना गरेर आफ्नो व्यापार बढाउने र लगानी उठाउने सोचमा हुने हुँदा भर्ना प्रक्रिया खुकुलो राख्छन् । विद्यार्थीले भर्ना त सजिलै पाउँछ, तर भिसा प्रक्रिया गाह्रो अनि लामो पनि हुन्छ । विश्वविद्यालयको शुल्क पनि महँगो हुन्छ । विद्यार्थीलाई काम गर्न सरकारले लगाएको बन्देजले पनि युरोप आएका नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् ।

युरोप आएका श्रमिक र विद्यार्थीहरुले भोग्ने अर्को ठूलो समस्या हो ई-पासपोर्ट नवीकरण । जसरी नेपालीहरु संसारका विभिन्न देशमा पुगिरहेका छन्, निश्चय पनि ती सबै देशमा नेपाली दूतावास छैन । नेपालको कूटनीतिक सम्बन्ध १८२ देशमा विस्तार भएको छ । नेपालमा विश्वका ३१ देशका दूतावास, ६ वाणिज्य दूतावास र १ अन्य कूटनीतिक प्रतिनिधि छन् । त्यस्तै नेपालले हाल विश्वभर करिब ३९ वटा कूटनीतिक प्रतिनिधित्व राखेको छ ।

युरोपमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका देशहरु पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरु गरी झन्डै १६४ वटा देशहरुमा दूतावास वा वाणिज्य दूतावास छैनन् । आर्थिक र अन्य हिसाबले संसारभर दूतावास वा वाणिज्य दूतावास खोल्न सम्भव नहोला, तर पछिल्लो समय नेपाली श्रमिकहरुको लोकप्रिय गन्तव्य बनेका देशहरु पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया जस्ता देशहरुमा दूतावास नहुँदा नेपालीहरुले दुःख पाउने गरेका छन् ।

छोटो समयको लागि श्रमिक भिसामा आएका नेपालीहरुलाई काम गर्न आएको कम्पनीले कामबाट निकालिदिने र यसैबीचमा पासपोर्टको समय सकिएर नवीकरण गर्नुपर्ने वा युरोप आएर सबै कुराको व्यवस्थापन नहुँदै पासपोर्टको समय सकिएर नवीकरण गर्नुपर्ने जस्ता समस्या नेपाली श्रमिकहरुले भोगिरहेका छन् ।

आफू काम गर्न वा पढ्न आएको देशमा नेपालको कूटनैतिक सेवासुविधा हुँदा त श्रमिक वा विद्यार्थीहरुलाई केही समस्या हुँदैन, तर पासपोर्ट नवीकरण गर्न अन्य देशमा जानुपर्दा ट्राभल डकुमेन्ट नबन्ने अवस्थाले नेपालीहरु मारमा परेका छन् ।

नेपाल सरकारले घुम्ती टोली पठाएर पासपोर्ट नवीकरणको समस्या समाधान गर्न त खोजेको छ, तर ठूलो संख्यामा नेपाली रहेका देशहरुमा घुम्ती टोली सेवा पर्याप्त छैन । सेवाग्राही नेपालीहरुले भोगे जस्तै समस्या नेपाली दूतावासका कर्मचारीहरुले पनि भोगिरहेका छन् । पासपोर्ट नवीकरणमा सम्बन्धित सेवाग्राही स्वयं उपस्थित नभई बिचौलियामार्फत काम गर्न लगाउने गरेको दूतावासका कर्मचारीहरुकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *