१८ सहसचिव यसवर्ष सचिव बढुवाको रेसमा : कार्की अगाडि, अरु को-को ?
काठमाडौं । चालू आर्थिक वर्षमा मुख्यसचिव लीलादेवी गड्तौलासहित १८ जना सचिव अनिवार्य अवकाशमा जाने तय भएसँगै १८ जना सहसचिव बढुवाको लाइनमा छन् ।
राष्ट्रिय कितावखानाको विवरण अनुसार सबैभन्दा बढी प्रशासन सेवाका ९ जना सचिव घर जाँदै छन् । न्याय सेवाका ४ जना, इन्जिनियरिङ, स्वास्थ्य, संघीय संसद सेवा, लेखापरीक्षण सेवा र परराष्ट्र सेवाका एक-एक जना गरेर ५ जना अनिवार्य अवकाशमा जानेछन् ।
को-को छन् रेसमा ?
अब सचिव बढुवा हुने लाइनमा २०७० सालका सहसचिव छन् । आगामी दुई वर्षभित्र २०७०-०७१ का सहसचिव बढुवा भइसक्ने सूचीमा देखिन्छन् ।
प्रशासन सेवातर्फ रिक्त हुने ९ सचिवमा बागमती प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्की, लुम्बिनीका कामु प्रमुख सचिव महादेव पन्थ, निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता रघुराम विष्ट सचिवमा बढुवा हुनेछन् । विष्ट २०८२ जेठ २४ मा उमेर हदका कारण अवकाशमा जाने भएकाले थोरै समयमात्रै सचिवको जिम्मेवारीमा रहने छन् । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव मदन भुजेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्रकला पौडेल सचिव बढुवा हुनेछन् ।
यसै वर्ष अर्थमन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख शोभाकान्त पौडेल, वातावरण विभागका महानिर्देशक भूपाल बराल, वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव खगेन्द्रप्रसाद सुवेदी यसै वर्षको अन्तिम समयसम्म सचिवमा बढुवा हुनेछन ।
१० जना सचिवमा बढुवा हुने भएकाले वरिष्ठताको आधारमा क्रमश: पछाडि रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल, मन्त्रालयकै सहसचिव इमानारायण श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुली पनि सचिवमा बढुवा हुन सक्नेछन् ।
यस्तै न्याय सेवाको कानून समूहतर्फका यस वर्ष तत्कालै वरिष्ठताका आधारमा रक्षामन्त्रालयका कानून महाशाखा प्रमुख सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पाराश्वर ढुंगाना सचिवमा बढुवा हुनेछन् । आगामी जेठमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव निर्मला अधिकारी बढुवा हुने छिन् ।
आउँदो मंसिर १३ गते इन्जिनियरिङ सेवातर्फ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा जानेछन् । गेलाल अनिवार्य अवकाशमा गएसँगै ईन्जिनियरिङतर्फ एक सचिव पद रिक्त हुनेछ । रिक्त सचिव पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहसचिव एवम् पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्मुख दिनानाथ मिश्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।
स्वास्थ्य सेवातर्फ डा. रोशन पोखरेल फागुन १२ मा घर जाँदै छन् । उनको ठाउँमा अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह, डा. विकास देवकोटा र डा. टंक बाराकोटीमध्ये एकजना सचिवमा बढुवा हुनेछन् । यद्यपि सबैभन्दा वरिष्ठ सिंह भएकाले उनको सम्भावना बढी छ ।
संघीय संसद सचिवालयका सचिव सुर्दशन खड्का आगामी २०८२ जेठ ३० मा अनिवार्य अवकाशमा जानेछन् । उनी अवकाशमा गएसँगै वरिष्ठताका आधारमा संघीय संसद सचिवालयमा कार्यरत सहसचिव सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जन सचिवालय सचिवमा बढुवा हुनेछन् ।
विशिष्ट श्रेणीमा एउटामात्रै दरबन्दी रहेको परराष्ट्र सेवातर्फ परराष्ट्र मन्त्रालयका सचिव सचिव सेवा लम्साल ५९ वर्षे उमेर हदका कारण आगामी जेठ ५ गते अनिवार्य अवकाशमा जानेछन् । लम्साल अवकाशमा गएसँगै वरिष्ठताका आधारमा अमृतबहादुर राई बढुवाको लाइनमा छन् ।
लेखापरीक्षण सेवातर्फ महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) वामदेव शर्मा ५८ वर्षे उमेर हदका कारण आगामी असार ६ मा अनिवार्य अवकाशमा जाँदैछन् । शर्मा अवकाशमा गएसँगै कार्यालयका सहसचिव घनश्याम पराजुली उपमहालेखपरीक्षक (सचिव) मा बढुवाको लाइनमा छन् ।