प्रतिनिधिसभाको कृषि समिति सभापतिमा कांग्रेसकी कुसुमको एकल उम्मेदवारी
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ । कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकाल समर्थनमा थापामगरको एकल उम्मेदवारी दर्ता भएको हो ।
दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म थापाको मात्रै एकल उम्मेदवारी दर्ता भएको संघीय संसद सचिवालयका सहसचिव एवम प्रवक्ता एकराम गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार एकल उम्मेदवारी परेकाले सम्भवत: सर्वसम्मत सभापतिमा चयन हुनेछिन् । यद्यपि निर्वाचन कार्यतालिकाअनुसार मगलबार अपरान्ह साढे ४ बजेका लागि सम्बन्धित समितिको बैठक बोलाइएको र उक्त बैठकले निर्णय गर्नेछ ।
यसअघि समितिकी सभापति डा. आरजु देउवा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो । उक्त समितिको सभापतिमा अर्को उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति चयन हुनेछन् ।