पूर्वराज्यमन्त्री रायको हत्या गर्न रामउजैनले लिएका थिए २ लाख, सुपारी दिने पनि पक्राउ
जनकपुरधाम । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै कामदार रामउजैन रायले छिमेकी वीरेन्द्र राय यादवबाट दुई लाख रुपैयाँ लिएर गरेको खुलेको छ ।
सर्लाहीको चन्द्रपुर नगरपालिका १ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । २५ वर्षीय रामउजैनले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
रामउजैनलाई प्रहरीले घटनाको बिहानपल्टै पक्राउ गरेको थियो । उनको वयानको आधारमा ४६ वर्षीय वीरेन्द्रलाई समेत पक्राउ गरी उनी दुबै जनालाई सर्लाही प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पूर्व राज्यमन्त्री रायको हत्या जग्गा सम्बन्धी मतभिन्नता र आर्थिक प्रलोभनका कारण भएको जानकारी दिए ।
उनका अनुसार हत्या गर्न वीरेन्द्रले रामउजैनलाई व्यवसायको लागि एउटा फर्म बनाई दिन्छु भन्ने आश्वासन र हत्या गर्न सुपारी बापत नगद दुई लाख रुपैया दिइएका थिए । सो लोभमा परेर पूर्व राज्यमन्त्री रायको हत्या गरेको रामउजैनले स्वीकार गरेका छन् ।
’नगद दुई लाख रुपैया र व्यवसायको लागि एउटा फर्म बनाई दिन्छु भन्ने आश्वासन वीरेन्द्रले रामउजैनलाई दिएका थिए,’ डीएसपी श्रेष्ठले भने, ’वीरेन्द्रले बदलामा पूर्व राज्यमन्त्री रायलाई खत्तम गरिदेउ भनेको रहेछ ।’
पूर्व राज्यमन्त्री राय मारिएपछि जग्गा आफूले उपभोग गर्न पाउने वीरेन्द्रको चाहना थियो । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर आफू एक्लै घटना घटाएको साविति बयान पनि रामउजैनले दिएको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार करिब एक महिना अगाडि वीरेन्द्रले रामउजैनको सहयोगमा पूर्व राज्यमन्त्री रायको घर जग्गाको नक्साको फोटो भिडियो बनाएका थिए ।
पूर्व राज्यमन्त्री राय हत्याको अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको टोली समेत खटेको थियो ।