मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति देखियो : अध्यक्ष बस्नेत – Nepal Press

मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति देखियो : अध्यक्ष बस्नेत

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् ।

‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगत रूपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रूपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ ।’ अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।

नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए ।

‘देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ । हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो । यसले विकृति र वितृष्णा मात्र बढाएको छ ।’ अध्यक्ष बस्नेतले भने, ‘देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभै समाधानका विकल्पहरू सहित प्रश्न उठाउनु पर्छ ।’

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी उनले दिएका थिए।

‘रचनात्मक पत्रकारिता देश र जनताको पक्षमा हुन्छ । जनतामैत्री हुन्छ । विकासमुखी र समृद्धिको बाहकसमेत हुन्छ ।’ पत्रकारिताको फरक बाटो मोड्न सुझाउँदै बस्नेतले भने, ‘मिडियाले यो फरक बाटो रोज्नका लागि थप अध्ययन, अनुसन्धान र खोजी भने गर्नुपर्छ । त्यसो गर्न सके केही मिडियामा अहिले देखिएको गलत सूचनाको बाढी र सामाजिक सञ्जालमा भाइरल हुने रोग आफैँ कम हुँदै जान्छ ।’

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।

सोमबार स्रोत व्यक्तिका रूपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेका थिए ।

युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडिया माथि नियमन गरेर काउन्सिलले दक्षिण एसियामै अनुकरणीय काम थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *