विश्वविद्यालयको पुनर्संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको मंगलबार भएको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनर्संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्ने बताए ।
समयको मागअनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे ।
उनले विगतदेखि नै बेरुजु घट्न नसकेकाले २८ अर्ब रुपैयाँ बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट गरे ।
विश्वविद्यालयमा समावेशी सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उनको भनाइ छ ।
बैठकले विभिन्न संकायबाट ६२औं ग्रेसलिस्टमा समाविष्ट ७३ हजार ९९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।