कैलालीमा अपहरणकारीको चंगुलबाट यसरी फुत्किए सहचालक – Nepal Press

कैलालीमा अपहरणकारीको चंगुलबाट यसरी फुत्किए सहचालक

कैलाली । सोमबार राति कैलालीको चिसापानीबाट अपहरणमा परेका सहचालक लोकेन्द्र चौधरी अपहरणकारीबाट फुत्किएर घर पुगेका छन् ।

मोहन्याल गाउँपालिका- ७ पितमारी क्षेत्रबाट अपरहणमा परेका चौधरी मंगलबार साँझ घर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मंगलबार बिहान ५ः३० बजे अपहरणकारीहरुको चंगुलबाट फुत्किएर सकुशल घर फर्किएका हुन् ।

‘मलाई दुई जनाले नियन्त्रणमा लिइरहेका थिए, एक जना भाग्न साधन खोज्न लागे, अर्कोलाई तिर्खा लाग्यो भनेर पानी खोज्न जाँदा म उनीहरुको आँखा छलेर फुत्किए’, उनले प्रहरीलाई सुनाए ।

सोमबार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा सवारीधनी राम चौधरी, चालक अनुराग चौधरी, सहचालक लोकेन्द्र चौधरी र अर्का एक जना मीन माझी थिए । उनीहरूलाई कुटपिट गर्दै केही युवाहरूले सहचालकलाई नियन्त्रणमा लिएर सँगै लगेका थिए ।

तीमध्येका एक जना सोमबार राति पक्राउ परेका थिए । अर्का एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । आफ्नो समूहका दुई जना पक्राउ परेपछि अपहरणकारी त्रसित बनेका थिए ।

‘उनीहरु भागेर नेपालगञ्ज जान गाडी खोजिरहेको र त्यहीबेला पानी खाने बहानामा सहचालक भागेर आएको देखिन्छ’, इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले भने, ‘घटनाबारे हामी थप बुझिरहेका छौं ।’

याे पनि पढ्नुस् : मध्यरातमा गाडी रोकेर सहचालकको अपहरण, १९ घण्टादेखि अवस्था अज्ञात


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *