पावर टिलर दिने भन्दै किसानसँग करोडौं ठगी, शिक्षक-सहकारीका अध्यक्षदेखि पूर्वमन्त्रीका स्वकीयसम्म संलग्न
ठगी प्रकरण बाहिरिएपछि धमाधम रकम फर्काउने कबुल
कैलाली । कैलालीमा किसानलाई पावर टिलर दिने भन्दै करोडौं रूपैयाँ ठगी गरेको खुलेको छ । पैसा तिरेर पनि सामान हात नलागेपछि ‘ठग’ हरू धमाधम पक्राउ पर्न थालेका छन् । किसानसँग रकम असुल्नेहरूमा पूर्वमन्त्रीका स्वकीय, शिक्षकदेखि सहकारीका पदाधिकारीसम्म छन् ।
सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट २६ लाख ४० हजार संकलन गरेको पाइएको छ । कैलारी गाउँपालिकाका किसानसँग उनले ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै रकम उठाएका हुन् ।
उनले सुरो नेपाल नामक संस्थासँग समन्वय गरी असार मसान्तभित्रै पावर टिलर ल्याइदिने भन्दै पैसा असुलेका थिए । चौधरीले २२ जना किसानसँग प्रतिकिसान १ लाख २० हजारका दरले २६ लाख ४० हजार रकम उठाएका थिए । तर, किसानले ठगिएको गुनासो गर्न थालेपछि उनले पैसा फिर्ता गर्ने कागजसमेत गरेका छन् ।
‘विविध कारणले हालसम्म किसानलाई कृषि उपज उपलब्ध गराउन नसकेको हुँदा उक्त रकम (सम्पूर्ण रकम) म शंकर चौधरीले आजको मितिबाट लागू हुने गरी ७ दिनभित्र मिति २०८१ श्रावण २२ गतेभित्र फिर्ता चुक्ता गर्नेछु’ चौधरीले गरेको सहमतिमा लेखिउको छ, ‘सो मितिमा रकम फिर्ता, चुक्ता वा उक्त रकम बुझाउन आलटाल गरे नेपाल सरकारको प्रचलित कानूनबमोजिम सहुँला बुझौंला । ’
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पनि पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले किसानबाट लिएको २६ लाख ४० हजार रूपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सम्झौता गरेको बताए ।
‘किसानसँग रकम उठाएर ठगी भइरहेको थाहा पाएपछि उहाँलाई मैले कार्यालयमा बोलाएँ । २२ जनाबाट उठाउनुभएको रहेछ । एक हप्ताभित्र फिर्ता गर्न कागज बनाएको छ’, उनले भने ‘त्यो समयसम्म किसानको रकम फिर्ता नभए कारबाही प्रक्रिया अगाडी बढ्छ ।’
कैलारी गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक विनोद चौधरीसँग समेत एक हप्तामा रकम फिर्ता गर्ने कागज बनाएको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
‘शिक्षकले ९५ जना किसानबाट १ लाखका दरले ९५ लाख उठाएको पाइएको पाइएको छ ’ अध्यक्ष चौधरीले भने ‘उहाँले पनि एक हप्तामा सबै पैसा दिन्छु भन्नुभएको छ ।’
कैलारी गाउँपालिका क्षेत्रका किसानलाई अनुदानमा पावर टिलर र पानी मोटर वितरण गर्ने भन्दै रकम संकलन गरेको बाल सशक्तिकरण नेपालका अध्यक्ष योगेश योगीले आज बिहानमात्रै सबै रकम फिर्ता गर्ने आश्वासन दिएको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाले केही दिन पहिले सार्वजनिक सूचना जारी गर्दै पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।
उनले भने, ‘हामीले सार्वजनिक सूचना जारी गरेपछि अहिले पीडितहरू सम्पर्कमा आउन थाल्नु भएको छ केही व्यक्ति तथा सहकारीहरूले पैसा फिर्ता पनि गरिरहेका छन् ।’
गाउँपालिका सूचना अधिकारी यगम कलेलका अनुसार दुई सहकारी र तीन व्यक्तिविरुद्ध उजुरी आएको छ । उनले रकम उठाएको उजुरी आएपछि फिर्ता गराउने प्रतिबद्धता गराएको समेत बताए । कालिमाई सहकारीले ३०० जनासँग मोटो रकम उठाएको उनको भनाइ छ । अहिले किसानहरूले रकम फिर्ता पाइरहेका छन् । अखुवा सहकारीले मात्रै थप ३४ लाख उठाएको आरोप छ ।
उनीहरूलाई पनि फिर्ता गर्न भनिएको छ । त्यस्तै स्थानीय शङ्कर, विनोद र रामशरणले मात्रै करोड बढी उठाएका छन् ।
‘हामीकहाँ सम्पर्कमा आउनेहरूले १ लाख २५ हजार सम्म बुझाएको गुनासो छ । कसैले ७० हजार कसैले ८० हजार, १ लाख , १लाख २० हजार सम्म दिएको गुनासो छ’ सूचना अधिकारी कलेलले भने ‘ अहिले सबैलाई किसानको पैसा फिर्ता गर्न भनेका छौँ । ’
जिल्ला प्रहरी कार्यालयले केही समयअघि पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरूलाई पनि पक्राउ गरेको थियो । तर, उजुरी नपरेपछि मुद्दा नचली उनीहरू छुटे । सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तिकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी पक्राउ परेका हुन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्य तथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा सहकारीका अध्यक्षले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । तर, उनीहरु विरुद्ध उजुरी नपरेपछि सबैलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमराज विष्टले जानकारी दिए ।
‘हामीले पक्राउ गरेका थियौँ । तर,कसैले पनि उजुरी दर्ता नगरेपछि उहाँहरू रिहा हुनु भयो’, उनले भने ।
कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाँड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तिकरण सहकारी संस्थाले जनही ६६ हजार २ सय ५० देखि १ लाख २५ हजार रुपैयाँसम्म रकम असुलेका थिए । समाचार र गुनासो आएपछि सहकारी अध्यक्षहरूलाई नियन्त्रण लिइएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । पीडित किसानहरूले उजुरी नदिएपछि उनीहरू छुटेको प्रजिअ मिश्र बताउँछन् । सहकारी अध्यक्षहरू अहिले पनि शंकाको घेरामा रहेको मिश्रको भनाइ छ ।
‘गुनासो आएपछि हामीले नियन्त्रणमा लिएर सोधपुछ गरेका थियौँ’, उनले भने, ‘ठगीमा उहाँहरूको शङ्कास्पद भूमिका देखिन्छ तर, कसैको उजुरी नआएपछि उहाँहरूलाई तारेकमा छोडेका छौँ । ’
यस अघि पनि इलाका प्रहरी कार्यालय टिकापुरमा किसानहरूलाई अनुदानमा पावर टेलर उपलब्ध गराउने भन्दै ठगी गरेको उजुरी परेको थियो । एकजनालाई पक्राउ गरेर तत्कालीन अवस्थामा कारबाही प्रक्रिया अगाडी बढे पनि दोषीमाथि कारबाही नहुँदा किसान ठगिने क्रम बढिरहेको हो ।
अहिले पूर्वमन्त्रीका स्वकीय सचिवदेखि, सहकारी अध्यक्षसम्मको संलग्नता देखिँदा पनि कारबाही नगरेर किसानको रकम फिर्ता गर्नतर्फ स्थानीय प्रशासन लागेको लेखिन्छ । कारबाहीबाट चोख्याउँदा ठगी गिरोह सक्रिय हुने भन्दै प्रहरी/प्रशासनको आलोचना बढेको छ ।
हेर्नुस् केही कागजात-