म विदुषी होइन, सानोतिनो त्रुटि हुँदा क्षमा दिनुहोला : चन्द्रकला सखी (भिडिओ)
‘बोल्दा कहीँ कतै जिभ्रो चिप्लिन पनि सक्छ, त्यसलाई ध्यान नदिएर कथाको उद्देश्य र विषयवस्तुमा केन्द्रित हुन अनुरोध गर्छु’
काठमाडौं । कोटी होममा भाग लिन लन्डनबाट आएकी कथावाचिका चन्द्रकला सखी पहिलो दिनको प्रस्तुतिमै सामाजिक सञ्जालमा ट्रोल हुन पुगेकी छन् । प्रवचनका क्रममा उनले ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि अहिले यसैलाई उनको अज्ञानताको परिसूचक मानेर फेसबुक र ट्वीटरमा आलोचना भइरहेको छ ।
चन्द्रकलाले बोलेको यस्तो थियोः
शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, सिंह जो छ, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो । तर, शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकौं जातजाति त छौं, सबैले एकसाथमा मिलेर बस्न सक्छौं । मिलेर बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?
विपरीत स्वार्थ र रुचि बोकेकाहरू पनि एउटै समाजमा मिलेर बस्न सक्छन् भन्ने दृष्टान्त दिन सखीले भगवान् शिव परिवारको प्रसंग निकालेकी हुन् । तर, ‘गोरुको आहारा मयूर’ हो भन्ने शब्दलाई मात्रै टिपेर टिकाटिप्पणी गरिएको छ ।
सायद चन्द्रकला स्वयम् पनि सामाजिक सञ्जालमा आइरहेका विषयवस्तुमा सजक छिन् । त्यसैले आजको सम्बोधनमा सन्दर्भ उल्लेख नगरिकन घुमाउरोरूपमा प्रष्टीकरण दिइन् । उनले आफू एक विदुषी नभएकोले सानोतिनो त्रुटिहरू हुन सक्ने बताइन् । बोल्दा कहिलेकाहीँ जिभ्रो चिप्लिन सक्ने भन्दै त्यसलाई ध्यान नदिन आग्रह गरिन् ।
आजको प्रवचन सुरुवात गर्नु अगाडि चन्द्रकला शखीको यो छोटो मन्तव्यः
भनिएको छ-जब बालकले तोते बोली बोल्न लाग्छ, त्यो समयमा आमाबुबालाई आफ्नो उसको बोली अत्यन्त प्रिय हुन्छ । आफ्नो बालकले बोलेको हरेक वाणी गुरु मातापिताले अत्यन्त ध्यानपूर्वक सुन्नुहुन्छ रे । त्यस्तै प्रिय भक्तजनहरू, आज म हजुरहरूको सानी छोरी यहाँ कथावाचन गर्दैछु । मैले हिजो पनि भनेको थिएँ । म कुनै विद्वान होइन । म कुनै पण्डित, विदुषी होइन । सन्तजनको कृपा प्रसाद मात्रै यहाँहरुसमक्ष प्रस्तुत गरिरहेको छु । जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरु हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।
यदि म हजुरहरुको हो भने हजुरहरूले पक्कै पनि मैले गरेको सानो-सानो त्रुटिहरूलाई ध्यान दिनुहुन्न होला । भनिन्छ नि, यदि कसैलाई हामीले अपनाइन्छ भने उसको कमिलाई पनि अपनाउनुपर्छ रे प्रिय भक्तजनहरु । हो कि होइन ? म हजुरहरुको हो कि होइन ? यदि हामीले राम्रोलाई अपनाउँछौं भने व्यक्तीको नराम्रोलाई पनि अपनाउनुपर्छ भन्नुको तात्पर्य कमी-कमजोरीलाई पनि स्वीकार्न सक्नुपर्छ भनेको हो ।
हरेक व्यक्ति पूर्ण हुँदैन । हरेक व्यक्तिमा त्यो क्षमता नहुन पनि सक्छ । तर, म त आफूलाई सानोभन्दा सानो अकिञ्चन मान्छु । भनिएको छ ठूला-ठूला योगीजन, सन्तजन, मान्यजनहरु पनि जन्म-जन्मसम्म रामको चर्चा गर्नुहुन्छ रे । तर, अन्तको समय जब आउँछ त्यसबेला राम कहीँ याद आउँदैन रे । राम उच्चारण गर्दा ‘लाम’ हुन्छ ।
जिभ्रोको स्वभावै हो चिप्लिनु । बोल्दा कहीँ-कतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ ।
कथालाई अगाडि लैजानुपूर्व एकपटक श्रीरामचन्द्रजीको चरणारवृन्दमा बन्दन गरौं ।