‘आधुनिक भरतपुर निर्माणमा रेणु दाहालको भूमिका’ बारे वक्तृत्वकला प्रतियोगिता गराउँदै युट्यूबर देउजा
भर्खर माओवादीमा फर्केका देउजाले प्रतियोगिताका नाममा मेयरको नांगो चाकडी गर्न खोजेको आरोप
काठमाडौं । कपुरबोट मिडियाको नामबाट भरतपुरमा एउटा डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने घोषणा भएको छ, जसको शीर्षक छ– आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भूमिका । शीर्षकबाटै अनुमान गर्न सकिन्छ कि यो वक्तृत्वकला आयोजनाको उद्देश्य गतिलो छैन ।
कपुरबोट मिडियाका सञ्चालक सन्तोष देउजा हुन्, जो अहिलेको चल्तापुर्दा युट्यूबरमा गनिन्छन् । यो कार्यक्रमको सबै खर्च आफैंले गर्ने देउजाले बताएका छन् । उनले रेनु दाहाललाई रिझाउने एक मात्र उद्देश्यले यो ‘चाकडी कार्यक्रम’ आयोजना गरेको आरोप लागेको छ ।
देउजाले घोषणा गरे अनुसार वक्तृत्वकलामा विजयी हुनेले एक लाख रुपैयाँ पाउने छन् । यस्तै, उपविजेताले ५० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना पुरस्कारवापत १० हजार दिने उनको भनाइ छ । हिजो पत्रकार सम्मेलन नै गरेर देउजाले वक्तृत्वकला कार्यक्रमको घोषणा गरेका हुन् । उनले महानगरको सहभागिताबिना आफ्नो संस्थाको एकल आयोजनामा यो कार्यक्रम गर्न लागेको बताए ।
युट्यूबर देउजाको पृष्ठभूमितिर जाँदा उनी पहिले नेकपा माओवादी केन्द्रका सक्रिय कार्यकर्ता थिए । रेनु दाहालको अघिल्लो कार्यकालमा उनको अघि पछि हिँड्ने र प्रचारप्रसार गर्ने गर्थे । माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरको केन्द्रीय सदस्यसमेत थिए । तर, पछि रेनुसँग उनको सम्बन्ध विग्रियो ।
गत वर्ष देउजाले आफू प्रेस सेन्टर लगायत कुनै पनि आस्थाको संगठनमा आवद्ध नरहेको घोषणा गरे । त्यसपछि उनी दुर्गा प्रसाइँका केही भेलाहरुमा देखिए । लगत्तै उनको झुकाव राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ बढ्यो । उनले रवि लामिछानेको प्रशंसामा केही स्टाटसहरु लेखे । यति मात्र होइन, आफ्नो घरको रातो रंगमाथि निलो रंग पनि पोते ।
तर रास्वपाबाट पनि निराश बनेका देउजा अहिले फेरि आफ्नो पुरानो घर माओवादीमै फर्किने सुरसारमा देखिएका छन् । निकटस्थका अनुसार रेनु दाहालको मन जितेर पुरानो साैहार्दता फिर्ता गर्ने अभियानमा रहेका देउजाले गर्न लागेको कथित वक्तृत्वकला त्यसैको एउटा कडी हो ।
गत असार २२ गते देउजाले रेनुको गुणगान गाउँदै लामो स्टाटस लेखे । उनले लेखेका थिए, ‘न इतिहासमा भरतपुरले तपाईंजत्तिको अभिभावक पायो न भविष्यमा पाउने छ । रिसाउँदा पनि तारिफ गर्न मन लाग्ने पात्र हो तपाईं । आँखामा राखे पनि नबिझाउने पात्र हो तपाईं’ ह्यान त्यान ।
उक्त स्टाटसले सायद रेनुलाई पनि पगाल्यो । त्यसको चार दिनपछि देउजाले रेनुलाई उनकै घरमा पुगेर भेटे । रेनुसँगको तस्विर फेसबुकमा हाल्दै उनले आफू फेरि माओवादीमा फर्किने संकेत दिए ।
उनले लेखेका थिए, ‘आफ्नै घर बनाउने सपना बोकेर अरुका घरमा डेरा बस्नुको कष्ट र पिडा मैले राम्रैसंग भोगेको छु । बाछिटाले हान्ने वा छानो चुहिने नै किन नहोस्, आफ्नो घर भनेको आफ्नै हुन्छ ।’
तर, अब चाहीँ स्टाटसहरुले मात्रै सन्तोष नमानेर सन्तोषले रेनुलाई थप पगाल्न वक्तृत्व कला प्रतियोगिता राखेका हुन् । यो कार्यक्रममा महानगर संलग्न नभएको उनले बताएका छन् । पवित्र भावले कार्यक्रम गरिएको उनले पत्रकार सम्मेलनमा दावी गरे । कार्यक्रममा कुनै स्पोन्सर पनि नखोजिने उनको भनाइ छ ।
‘कोही हामी स्पोन्सर गर्छौं भनेर आउनुभयो भने पनि अभोइड गरेका छौं’, देउजाले भने ।
के भन्छिन् रेनु दाहाल ?
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भने आफूलाई वक्तृत्वकला कार्यक्रमबारे कुनै जानकारी नभएको दाबी गरेकी छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै आफूले पनि कार्यक्रमबारे सामाजिक सञ्जालबाट थाहा पाएको बताइन् ।
‘मलाई यो कार्यक्रमबारे कुनै जानकारी थिएन’, उनले भनिन्, ‘सामाजिक सञ्जालमा फोटो देखेपछि बल्ल थाहा पाएको हो । यो कार्यक्रमको आयोजनामा महानगरले कुनै सहयोग पनि गरेको छैन । उहाँको व्यक्तिगत कार्यक्रम होला ।’
दाहालका अनुसार देउजाले उनलाई केही सरप्राइज दिन्छु भनेर चाहिँ भनेका थिए ।