बिहीबार अमेरिका र रुसी कैदीहरू साटासाट, स्वागत गर्न विमानस्थल पुगे पुटिन
काठमाडौं । बिहीबार अमेरिका र रुसले एक अर्काको देशमा भएका कैदीहरू साटासाट गरेका छन् । रुसी जेलमा भएका अमेरिकी कैदीहरू रुसले अमेरिका पठाएको थियो भने अमेरिकी जेलमा भएका रुसी कैदीहरूलाई अमेरिकाले रुस पठाएको थियो ।
दुवै देशहरूले कसका कति कैदी छोडिए भनेर सार्वजनिक गरेका छैनन् । तर, रुसी विश्व च्यानल आरटीले २६ हाराहारी भएको अनुमान गरेको छ ।
अमेरिकी जेलबाट छोडिएका रुसी कैदीहरूलाई भेट्न पुटिन आफैँ विमानस्थल पुगेका थिए । रुसको राजधानी मस्को बाहिरको विमानस्थल भिनुकोभो २ विमानस्थलमा पुगेका थिए पुटिन ।
उनले विमानस्थल पुगेर भनेका भने, ‘हाम्रो शपथमा र कर्तव्यमा आस्थावान् भएकोमा तपाईँहरू सबैलाई धन्यवाद । तपाईँको देशले तपाईँलाई बिर्सिएको छैन ।’ पुटिनले फेरि भेट हुने भन्दै थपे, ‘हाम्रो फेरि पनि भेट हुनेछ । हामी तपाईँको भविष्यको बारेमा कुराकानी गर्नेछौँ । अहिले भने म तपाईँको आगमनलाई बधाई दिन चाहन्छु ।’