‘फोटो भ्वाइस’ मनाेसामाजिक तथा भावनात्मक उपचारमा प्रभावकारी विधि
काठमाडौं । ३० जुलाई मानव बेचबिखन विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर शक्ति समूह र युनिभर्सिटी अफ फ्रेजर भ्यालीको संयुक्त आयोजनामा बुधबार र बिहीबार फोटो भ्वाइस पद्धतीमार्फत सहभागीमुलक कार्य अनुसन्धान कार्यशाला सम्पन्न गरेको छ ।
मानव बेचबिखन प्रभावितहरुको सहभागीमा सम्पन्न कार्यशालामा उनीहरुको समस्या र अवस्थाबारे पहिचान गर्नका लागि अनुसन्धनात्मक कार्य गरिरहेको र मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सहभागीमुलक रुपमा फोटोमार्फत प्रभावतिहरुको भ्वाइस सेयरीङ गरिएको थियाे । यो अनुसन्धनात्मक विधि अत्यन्त प्रभावकारी रहेको आयोजकले जनाएको छ ।
फोटोभ्वाइस अनुसन्धान विधिले प्रभावितहरुको मानसिक स्वास्थ्य तथा भावनात्मक अवस्थालाई उपचारात्मक विधिको रुपमा समेत प्रभावकारी रहेको र परम्परागत अनुसन्धानको रुपमा प्रयोग हुने प्रश्न-उत्तर अन्तरवार्ताभन्दा फरक र प्रभावकारी भएको सहभागीहरुले बताए ।
फोटोभ्वाइस विधिबाट गरिएको अनुसन्धानले प्रभावितको मनोबल बढ्ने, उनीहरुको एक आपसी रुपमा सकारात्मक बुझाइ रहने, सहयोगको भावनामा वृद्धि हुने, सामाजिक रुपमा आत्विश्वास बढेको, एक अर्काप्रतिको बुझाइमा सहज भएको जसले प्रभावितहरुले सामना गरिरहेको चुनौतीहरु समाधान गर्न एकजुट हुनसमेत मद्दत पुगेको बताइएको छ ।
साथै फोटोभ्वाइसमार्फत गरिने अनुसन्धान विधि मनोसामाजिक रुपमा हुने समस्याको लागि उपचारात्मक पद्धती हुने विश्वास समेत कार्यशालामा सहभागीहरुले महसुस गरेका आयोजकले जनाएको छ ।
फोटोमार्फत आफ्ना कुरा व्यक्त गर्दा उनीहरु समस्यामा परेको कारण पर्न गएको मनोसामाजिक वा भावनात्मक चोटको लागि मलम बनेर कार्य गरेको समेत महसुस भएको सहभागीले अनुभव सुनाए ।
आगामी दिनमा हरेक क्षेत्रमा गरिने अनुसन्धानमा अनुसन्धानकर्ताहरुले परम्परागत विधिभन्दा नयाँ विधि अपनाएर गर्दा अझै प्रभावकारी सूचना तथा जानकारी प्राप्त हुन सक्ने र अनुसन्धानलाई थप सहयोग पुर्याउनेसमेत कार्यशालामा सहभागीहरुले जोड दिए ।
दुईदिने कार्यशालामा सहभागीहरुले सहभागीतामुलक रुपमा छलफल गरी मानव बेचबिखन प्रभावितहरुले भोगिरहेका विशेषगरि मानसिक, शारीरिक स्वास्थ्य समस्या, सामाजिक समस्या, शिक्षा, रोजगार र प्रभावकारी पुनर्मिलनको समस्या समाधानका लागि प्रभावितहरु सँगसँगै यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको ऐक्यवद्धताका साथ साझेदारी, समन्वय र सहकार्य गर्नुपर्नेमा जाेड दिए ।
नेपाल सरकारले पनि विषम परिस्थितमा रहेका मानव बेचबिखनबाट प्रभावितहरुले भोगेका मानसिक तथा शारीरिक स्वस्थ्य समस्या, शिक्षा, रोजगार, प्रभावकारी सामाजिक पुनर्मिलन जस्ता जटील सवालमा नीति नियम बनाइ कार्य गर्न जोड दिनुपर्ने र मानव बेचबिखन प्रभावितहरुको सामाजिक सुरक्षाका लागि कार्य गरि प्रभावित मैत्री बन्नुपर्ने समेत निष्कर्ष निकालिएको छ ।
फोटोभ्वाइस सहभागीमुलक कार्य अनुसन्धान कार्यशालाको सहजीकरण युनिभर्सिटी अफ फ्रेजर भ्यालीकी प्राध्यापक रीता ढुंगानाले गरेकीे थिइन् ।
अनुसन्धानको महत्व र अनुसन्धान गर्दा प्रयोग हुने विधि तथा पद्धतीले अनुसन्धानको प्रभावकारीतामा ठूलो भुमिका निर्वाह गर्ने हुनाले परम्परागत विधिभन्दा फोटोभ्वाइसमार्फत गरिने विधि अत्यन्त प्रभावकारी हुने भन्ने महसुस भएको र अनुसन्धानबाट आएको निष्कर्षले मानव बेचबिखन प्रभावितहरुको सवाल राष्ट्रिय स्तरमा पैरवी गर्नसमेत मद्दत पुग्ने विश्वास शक्ति समुहको संस्थापक सदस्य एवं रणनीति तथा पैरवी निर्देशकले बताइन् ।
शक्ति समुहको अध्यक्ष नातीसरा राईले यो विधि प्रभावितहरुको समस्या र अवस्था पहिचान गर्न मात्र नभइ उनीहरुको मनोसामाजिक तथा भावनात्मक रुपमा उपचारात्मक पद्धतीमा महत्वपूर्ण हुने जोड दिँदै यस्ता विधि मानव बेचबिखनबाट प्रभावित जस्तै अन्य समस्यामा परेका व्यक्तिहरुको अनुसन्धान गर्नसमेत उपयुक्त रहने विश्वास व्यक्त गरिन् ।
दुईदिने फोटोभ्वाइस सहभागीमुलक कार्य अनुसन्धान कार्यशाला प्रभावकारी भएको उनकाे भनाइ छ । उनले सहजकर्ता ढुंगाना र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।