औषधिको खोलभित्र लुकेको झूट : भारतीय औषधि निर्माता कम्पनीहरुको अँध्यारो पक्ष
सुन्दै अचम्म लाग्छ- के औषधिका खोल वा बोटलभित्र पनि झूट लुकेको हुन्छ होला र ? बिरामी हुँदा वा रोगको उपचारमा औषधिको प्रयोग हामी सबैले निःसन्देह गर्छौं । डाक्टर, स्वास्थ्यकर्मीले सिफारिस गरेका औषधि प्रयोग गर्न हामीलाई पूर्ण विश्वास लाग्छ । जीवनदायिनी औषधिको बजार निकै ठूलो र विस्तारित छ । उपभोक्ताहरु नाम चलेका ठूला औषधि निर्माता वा भनौं फार्मा उद्योगबाट कसरी ठगिन विवश छन् भन्ने सनसनीपूर्ण खोजमूलक अनुसन्धानमा आधारित भएर एउटा निकै चर्चित बेस्ट सेलर किताब छापियो अमेरिकामा सन् २०१९ मा । किताब हो ‘बोटल अफ लाइज’ रानबाक्सी र भारतीय फर्मा उद्योगको अँध्यारो पक्ष । लेखक हुन् क्याथरिन इबान । पेशाले पत्रकार हुन् उनी । खोज पत्रकारिताको उत्कृष्ट नमुना बनेर देखापरेकी छन् लेखक यो पुस्तकमार्फत ।
ब्रान्डेड औषधि उत्पादन गर्ने कम्पनीहरुले बिक्री बढाउन औषधि सेवनको लत लाग्ने जस्ता जोखिमबारेका सूचना लुकाएर कुन हदसम्मको खेलवाड गर्दा रहेछन् उपभोक्ताको स्वस्थ्यप्रति भन्नेबारेमा खोजमूलक रिपोर्टिङ गर्थिन् क्याथरिनले सन् २००८ ताका । बन्दुकको अवैध बेचबिखन/अमेरिकी सरकारले सेप्टेम्बर- ११ पछिको युद्ध आतंकको बेला संदीग्ध अपराधीहरुलाई केरकार गर्ने क्रममा दिने गरेको चरम यातनाबारे ठूल्ठूला सनसनीपूर्ण तथ्य बाहिर ल्याउने साहसी र निडर पत्रकार हुन् उनी । अमेरिकाले सप्लाइ गर्ने अधिकांश औषधि‘जेनेरिक औषधि’ रहेछन् । भारतले एड्ससँग सम्बन्धित औषधि निकै सस्तो लागतमा उत्पादन गरेर अमेरिकालाई बेच्थ्यो, अमेरिकाले त्यसरी खरिद गरिएका औषधिहरु एड्स रोगबाट प्रभावित अफ्रिकी देशमा वितरण गर्थ्यो ।
के हुन् जेनेरिक औषधि ?
जेनेरिकको अर्थ हो- सामान्य वा साधारण । ब्राण्ड नाममा उत्पादन हुने, तर कानूनी अधिकार हिसाबले ‘पेटेन्ट अधिकार’ सकिइसकेका औषधिहरु हुन् जेनेरिक औषधि । यस्ता औषधिहरु डिप्रेसनदेखि मुटु रोगसँग सम्बन्धित हुन्छन् । जेनेरिक औषधिको कथा यथार्थमा विश्वव्यापी रहेछ । मध्य अमेरिकादेखि चीन, भारत, सब-सहारान अफ्रिका र ब्राजिलसम्मका घटना समेटिएको छ यो किताबमा ।
रानबाक्सीलगायतका भारतीय औषधि निर्माता कम्पनीहरुको अँध्यारो पक्ष
रानबाक्सी कम्पनी सन् २००४ ताका सबैभन्दा ठूलो र नाम चलेको औषधि निर्माता कम्पनी हो । सोही कम्पनीमा काम गर्ने दिनेश ठाकुर नाम गरेका उच्च तहका कर्मचारीले एक दिन डरलाग्दो गोप्य सूचना थाहा पाउँछन् । रानबाक्सीले उत्पादन गरेका औषधिहरुको गुणस्तर परीक्षण नतिजा ढाकछोप गरेर करोडौंको संख्यामा रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पार्ने गरेको तथ्य बुझेपछि ठाकुरले कम्पनीको आकर्षक जागिर छोड्ने निधो गर्छन् र संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)को मुखबिर बन्छन् । मुखबिर, मुखबर शब्दको अर्थ हो- अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रुपमा खबर दिने व्यक्ति, जासुस, सरकारी साक्षी (बृहत् नेपाली शब्दकोशका) । अंग्रेजी शब्द हो- ह्वीसल ब्लोअर ।
किताब पढ्दै जाँदा थप के खुलासा हुन्छ भन्ने कौतुहलले रोमाञ्चक अनुभूति हुन्छ । किताब पढिसक्दा यस्तो लाग्छ- अब हामीले सेवन गर्ने प्रत्येक औषधिका चक्की र सिसीमाथि आशंका गर्नुपर्ने, सन्देह गर्नुपर्ने अवस्थामा पुगिन्छ ।
किताब पढ्दै जाँदा स्तब्ध पार्ने र आँखा खोल्ने खालका विवरणले विश्वविख्यात उच्च ब्राण्ड नामधारी औषधि निर्माता कम्पनीलाई परेशान/हैरान गराउने प्रश्न उजागर भएको भेटिन्छन् तथ्यगत रुपमा । भारतीय फर्मा उद्योगको नाङ्गो र कुरुप सत्य उजागर गरेकी छन् साहसी पत्रकार क्याथरिनले किताबमा । घटना, विषय र प्रसंग कथानक शैलीमा लेखिएको छ । किताब पढ्दै जाँदा थप के खुलासा हुन्छ भन्ने कौतुहलले रोमाञ्चक अनुभूति हुन्छ । किताब पढिसक्दा यस्तो लाग्छ- अब हामीले सेवन गर्ने प्रत्येक औषधिका चक्की र सिसीमाथि आशंका गर्नुपर्ने, सन्देह गर्नुपर्ने अवस्थामा पुगिन्छ ।
खासमा किताब भारतमा उत्पादन हुने जेनेरिक औषधिहरुसँग सम्बन्धित घोटालामा केद्रित छ । वास्तवमा यस्ता औषधिको शिकार हाम्रो जस्तै चेतनास्तर भएका विकासोन्मुख र गरिब देशहरु सँगसँगै निम्न वर्गीय भारतीयहरु हुने रहेछन् भन्ने तथ्य उद्घाटन गरेकी छन् लेखकले । २१ औं शताब्दीकै सबैभन्दा महत्वपूर्ण जनस्वास्थ्यको क्षेत्रमा भएको विकासको रुपमा लिइन्छ जेनेरिक (सामान्य/साधारण) औषधिको व्यापक प्रयोगलाई विश्वभरि । त्यसैले यस्ता औषधि उत्पादन गर्ने कार्य आफैंमा स्वागतयोग्य र प्रशंसनीय मानिन्छ ।
आजभोलि नब्बे प्रतिशतभन्दा बढी फर्मास्यूटिकल बजार हिस्सा यिनै जेनेरिक औषधिले ओगटेका रहेछन् । जेनेरिक औषधिहरु तिनीहरुका ब्राण्ड नामवाला समकक्षी औषधि जस्तै ठ्याक्कै उस्तै हुन् भनेर डाक्टर, फार्मासिस्टहरु र नियामक निकायहरु सबै आस्वस्त हुन्छन् र हामी उपभोक्ताहरु पनि विश्वस्त हुन्छौं । हो, यही विश्वासभित्र अडिएको/लुकेको झूटको उजागर गरेको छ ‘बोटल अफ लाइज’ किताबले । लेखक क्याथरिन इबानले जेनेरिक औषधि निर्माताहरुको छलकपट, धोका र त्यसका कारण उत्पन्न विश्वव्यापी स्वास्थ्य जोखिम उजागर गरिएको छ किताबमा ।
बिरामीलाई औषधि लेख्ने, खान वा प्रयोग गर्न सिफारिस गर्ने डाक्टर र फर्मासिस्टहरु, औषधि उत्पादक कम्पनीलगायत सरोकारवालाहरुले एक पटक पढ्नैपर्ने किताब हो ‘बोटल अफ लाइज’ । नैतिक आचारसंहिताभित्र रहेर मेडिकल अभ्यास गर्नेहरुको आँखा खोल्ने किताब हो यो ।
मुखबिर र नियामक निकायबाट प्राप्त विशेष जासुसी विवरण, हजारौं पृष्ठका गोप्य विवरणहरुका आधारमा लेखक इबानले समग्र औषधि उद्योगका ठगी धन्दा, तिनीहरुले नियामक निकायमा बुझाउने गरेको झूटो तथ्याङ्क, सुरक्षित उत्पादनका लागि अपनाइने सिद्धान्त, लागत कम गरी नाफा बढाउन निरीक्षकहरुलाई कसरी बेवकूफ बनाइन्छ भन्ने तथ्यमा आधारित विवरण समावेश गरेकी छन् किताबमा । किताबमार्फत उजागर गरिएको सत्य/तथ्य विश्वव्यापीकरणको आखिरी/अन्तिम सच्चाइको परीक्षण हो भन्न सकिन्छ ।
४०० पृष्ठको हार्डकभर संस्करणको यो किताब सन् २०१९ मा छापिएको हो । भारतमा भने सन् २०२० मा छापिएको थियो । किताबको पछिल्लो भागमा समावेश शब्दावलीले औषधि, उपचार, केमिकलसँग सम्बन्धित प्राविधिक शब्दको अर्थ बुझ्न मेडिकल क्षेत्रभन्दा बाहिरका सबैलाई सहज हुन्छ । किताबका ४१ पानामा नोट (छोटो पत्र) समावेश छ । यसबाट जिज्ञासु पाठकका लागि थप सन्दर्भ मिल्छ । सार्वजनिक स्रोत र कागजातहरुको विवरणले किताबको ओज बढाएको छ ।
विश्वका केही ख्यातिप्राप्त पत्रकारहरुको समेत योगदान रहेछ किताबमा । सुन्दर लेखन, विज्ञान पत्रकारको सहयोग र उत्कृष्ट रिपोर्टिङ सीप भएका पत्रकारहरुले सम्बद्ध अनुसन्धान सहायकको भूमिका निर्वाह गरेर किताबलाई परिस्कृत बनाएका छन् । विश्वका ४० भन्दा बढी देशको भ्रमण गरेर खोजतलास गरिएका तथ्य समावेश छन् । यो किताब लेखनको प्रस्थानविन्दु हो इबानले सन् २०१३ मा फच्र्युन म्यागेजिनमा प्रकाशन गरेको जेनेटिक औषधिसम्बन्धी आफ्नै लेख ।
आमपाठकका लागि औषधिका खोल/बोत्तलभित्र लुकेको झूटबारेमा जानकारी हुन्छ, सचेतना मिल्छ । त्यस्तै राजनीतिबाहेक अन्य समाचारका स्रोत नदेख्ने नेपाली पत्रकारिता जगतको आँखा खोल्छ यस किताबले । क्षणिक स्वार्थ र लाभको पछाडि नलागी विशुद्ध खोज पत्रकारिता गर्नेहरुलाई राम्रो सन्दर्भ स्रोत र हौसला मिल्छ यस किताबबाट ।
पुनश्चः अहिलेसम्म मैले पढ्न नभ्याएको बिल्कुल फरक धारको यो किताब पढेर छोटो समीक्षा लेख्न अनुरोध गर्दै किताब प्रदान गर्ने सहृदयी डाक्टर मनोज ढुंगानाप्रति हार्दिक आभार र साधुवाद छ । बिरामीलाई औषधि लेख्ने, खान वा प्रयोग गर्न सिफारिस गर्ने डाक्टर र फर्मासिस्टहरु, औषधि उत्पादक कम्पनीलगायत सरोकारवालाहरुले एक पटक पढ्नैपर्ने किताब हो ‘बोटल अफ लाइज’ । नैतिक आचारसंहिताभित्र रहेर मेडिकल अभ्यास गर्नेहरुको आँखा खोल्ने किताब हो यो ।
औषधि उत्पादकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, तिनका बजार प्रतिनिधि र बजारीकरणका दौरान दाबी गरिने गुणस्तर, सुरक्षा र पाश्र्व असर (साइड इफेक्ट)बारे पर्याप्त जानकारी नलिई क्षणिक लाभका लागि औषधि खान सिफारिस गर्न नहुने रहेछ भन्ने महत्वपूर्ण ज्ञान मिल्छ किताब पढेर खास गरेर मेडिकल अभ्यास गर्नेहरुका लागि । त्यस्तै आमपाठकका लागि औषधिका खोल/बोत्तलभित्र लुकेको झूटबारेमा जानकारी हुन्छ, सचेतना मिल्छ । त्यस्तै राजनीतिबाहेक अन्य समाचारका स्रोत नदेख्ने नेपाली पत्रकारिता जगतको आँखा खोल्छ यस किताबले । क्षणिक स्वार्थ र लाभको पछाडि नलागी विशुद्ध खोज पत्रकारिता गर्नेहरुलाई राम्रो सन्दर्भ स्रोत र हौसला मिल्छ यस किताबबाट ।
हुन त औषधि विज्ञानबारेमा बेलाबेलामा विभिन्न घोटाला सार्वजनिक भैरहेका हुन्छन् । षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरुको ठूलो संख्या पनि छ विश्वभर नै आजभोलि, तर सङ्कट, जोखिम र आपतको बेला कुनै पनि औषधि हामी निःसन्देह प्रयोग गर्न विवश हुन्छौं । जस्तो कोभिड उपचारको दौरानमा ट्रायलको रुपमा विभिन्नखाले औषधिको प्रयोग भएको र तिनले स्वास्थ्यमा पारेका पाश्र्व प्रभावका कुरा समाचारमा आइरहेका छन् । यस्ता विषयमा विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरुले सजग गराइरहेका पनि हुन्छन्, तर हाम्रो जस्तो कमजोर चेतनास्तर भएको देशमा यस्ता औषधिले कुन हदसम्मको प्रभाव पारिरहेका होलान् ? सरोकारवालाहरुको चासो कत्तिको छ ?
(लेखक रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गर्छन् ।)