सिन्धुली कलाघर नै सुमनको सर्वस्व, बन्दैछ पर्यटकीय गन्तव्य – Nepal Press

सिन्धुली कलाघर नै सुमनको सर्वस्व, बन्दैछ पर्यटकीय गन्तव्य

साहित्य, कला, संस्कृति समाजका ऐना हुन् । यिनीहरु सभ्यताका जननीसमेत हुन् । संस्कार, संस्कृति र सभ्यताले नै समाजमा पहिचान दिन्छन् । पहिचान नै परिचयको फेहरिस्त हो । नेपाली साहित्य, कला र संस्कृतिले नै हाम्रो पहिचानको गोरेटो विशाल बनाएको सत्य हो ।

कलाले संसार चिनाउँछ । कला अन्तर्राष्ट्रिय स्वरुप हो । पहिचान र परिचयसमेत हो । प्रसङ्ग सिन्धुलीको कमलामाई नगरपालिका- ३ को चपौलीमा रहेको सिन्धुली कलाघरको हो । २०७५ सालमा विविधत दर्ता भई सञ्चालनमा आउनुअघि प्रगतिशील प्रतिभा केन्द्र यसको आधार थियो ।

युवाहरुको अनुपम संगम हो सिन्धुली कलाघर । साहित्य, कला र संस्कृतिको त्रिवेणी हो कलाघर । देश, विदेशमा समेत चर्चामा रहेको कलाघर आस्थाको दोभान हो । गरिखानेका साहित्य छ यहाँ । साहित्यलाई कला र बाजागाजामा रुपान्तरण गर्ने खुबी भएका प्रतिभाशाली कलाकार छन् यहाँ ।

युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेकै बेलामा स्वदेशमा यस्तै होनाहार युवाहरुले सिन्धुली कलाघरमार्फत नेपाली साहित्य, कला र संस्कृतिलाई संरक्षण, सम्बर्द्धन गर्ने महान उद्देश्य लिएर अघि बढिरहेका छन् । उनीहरु कलाको माध्यमबाटै आम्दानीसँग जोडिने अभियानमा छन् । कलालाई गरिखाने माध्यमका रुपमा ग्रहण गरिरहेका छन् ।

११ जनाको कार्यसमिति छ । नेपाली बाबु ‘सुमन’ स्थापनाकालदेखि हालसम्म अध्यक्ष छन् । आफ्नो कलाघरलाई नयाँपन दिइरहेका छन् । कलामा खोजी गरेर नौलो पहिचान दिएका छन् । कलामा नयाँ अभियान दिँदै आफ्नो संस्थालाई सबैका बीचमा परिचित गराइरहेका छन् । अभियानबाटै संकलित रकमको उचित व्यवस्थापन गरी चार रोपनी जग्गामा कलाघरको सपना रोपेका छन् । कलाघरमा राष्ट्रिय कला संग्रहालय बनाएका छन् । काम बाँकी छन् धेरै । कलाघरलाई नेपालको चुच्चे नक्सामा मात्र सीमित गरेका छैनन् । बरु त्यहाँ गुल्मी भार्सेको घुम्ने घर (कुँडुले घर) बनाएका छन् । फलामको सहयोगमा आकृति दिएका छन् नौमती पञ्चेबाजालाई ।

पशुपतिनाथलाई सांस्कृतिक एवम् धार्मिक धरोहरका रुपमा सजाएका छन् । धनुषाको जानकी मन्दिर बनाएर धार्मिक पर्यटनको प्रचार गरेका छन् । हेटौंडाको युद्धगढी निर्माण गरेर पुरातात्विक स्थलको थप पहिचान दिएका छन् । चिया पकाउने भव्य किट्ली तयार पारेका छन् । जहाँ बसेर बाजा बजाउन मिल्छ, चिया खान मिल्छ । रमाइलो गर्ने अवसर जुट्छ । पर्यटक तान्ने नौलो तथा आकर्षक केन्द्र हो चिया किट्ली ।

नेपाली बाबु ‘सुमन’को खास नाम सुमन थापामगर हो । उनी चपौलीकै स्थानीय बासिन्दा हुन् । गीत तथा संगीतमा सानैदेखि रुचि थियो । कलामा आफ्नो प्रतिभा पोख्न चाहन्थे । त्यसैले पनि सिन्धुली कलाघर उनका लागि पाठशाला बन्यो । यतिबेला उनले संसारका १० वटा देशका कला, संस्कृति र पर्यटकीय अवस्था झल्काउने नौलो स्वरुप वा आकृति निर्माण गर्दैछन् । यूएईको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य निर्माण गरिसकेका छन् । मलेसियाको प्रख्यात पहिचान दिने आकृति तयारी गरिरहेका छन् ।

सुमन भन्छन्- ‘सिन्धुली कलाघर संसारको कलाघर बन्ने छ एक दिन । संसारभरिका घार्मिक, ऐतिहासिक, पुरातात्विक जानकारी राख्न रुचाउने पर्यटकहरु यहाँ आउनेछन् । यसले आर्थिक समृद्धि र रोजगारीमा टेवा पुग्नेछ ।’

 

केन्द्रीय राजधानीको मानसिकता बोकेका नेपालीहरुले आफ्नो ठाउँलाई राजधानी बनाउने कोसिस किन गर्दैनन् होला ? सबै कुरा केन्द्रमा नै पाइन्छ, हुन्छ भन्ने दरिद्र मानसिकताका विरुद्धमा खरो उत्रेका बेजोड कलाकार हुन् सुमन । उनी आफ्नै सिन्धुली कलाघरलाई संगीत विद्यालयका रुपमा रुपान्तरण गर्ने नौलो तर चुनौतीपूर्ण अभियानमा गतिशील छन् ।

उनको कलाघरले नयाँ शिराबाट संगीत र कलालाई लिएको छ । युवतीहरुलाई नौमती पञ्चेबाजाका सहारामा नयाँ परिचय दिलाएको छ । सोही बाजाको मद्दतले नेपाल, भारतलगायत समुद्रपारि समेत पुर्‍याएको छ । नेपाली कलालाई संसारभर पुर्‍याउने अभियानमा सरिक भएका छन् ।

नौमती बाजा बजाएरै वर्षमा २५ लाख बढी आम्दानी गरेको छ कलाघरले । आएको पैसाले आफ्नै कलाघरको नाममा जग्गा खरिद गरिएको छ । भवन बनाइएको छ । विभिन्न संरचना निर्माण गरिएको छ । कला संग्रहालयमा कला थपिएका छन्, बाजा थपिएको छ ।

सुमनले कलाकारहरु आवासीय रुपमा खानपान गराएका छन्, कलाघरमै श्रम गरेका छन्, सीप अर्पण गरेका छन् र पसिना पोखेका छन् ।

कलाकारहरु बिहानै कलाघरमा पुग्छन् । कसैले बाजाको अभ्यास गर्न थाल्छन् । कसैले नृत्यमा पारङ्गत हुन प्रयास गर्छन् । कसैले गीतलाई प्रभावकारी बनाउन रियाज गर्छन् । सुमन सबैले के गरेका छन् भनेर अनुगमन, नियमनमात्र होइन, फलाम, काठ, ढुंगा र माटाका काम गर्न कसिन्छन् । उनमा अचम्मैको कला छ । सिकर्मी हुन्, डकर्मी हुन् । दक्ष वेल्डर्स पनि हुन् । सडक नाटक लेखेका छन् । गीत कोर्छन् । प्रहसनहरुमा भाग लिएका छन् । निर्देशन गरेका छन् । नृत्यकलामा उनी बेजोड देखिन्छन् ।

सिन्धुली कलाघरमै कला आश्रम बनाउने सुमनको सपना छ । उनका अनुसार जीवनभर सारङ्गी जस्तै रेटिने कलाकारहरु शारीरिक, मानसिक वा मनोवैज्ञानिक रुपले कामगरी खान नसक्दा कलाआश्रममा जीवन सुखमय तरिकाले व्यतित गर्नेछन् । उनीहरुका लागि चारधाम नै कलाआश्रम हुनेछ । खानपान, स्वास्थ्य, सुरक्षा र सुसारको मैत्रीपूर्ण व्यवस्थापन कला आश्रममै हुने सुमनले बताए । यति भएपछि कलाकारहरुले सकुञ्जेल कलामा जीवन समर्पण गर्नेछन् । नसक्दा सिन्धुली कलाघर जिन्दावाद !

सुमनको सर्वस्व नै कलाघर हो । सखारै कलाघर पुग्छन्, राति फर्किन्छन् । कलाघरका कलाकारहरुलाई पालनपोषण गर्ने, शिक्षादीक्षा, स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनकै काम हो । उनी चौबीसै घण्टा कलाकार, कलाघर, कलाको श्रीवृद्धिमा तल्लीन रहन्छन् । न दिनको भोक न त रातको निद्रा छ । सबैसँग सहयोगका लागि हात फैलाउँछन् । सहयोगलाई पारदर्शी तरिकाले प्रयोग गर्छन् । सबैको विश्वासिलो पात्रका रुपमा परिचयको दायरा फैलाइरहेका सुमनले कलाघरतिर लागेपछि स्नातकसम्मको पढाइ पूरा गर्न र तीस वर्षमा समेत बिहे गर्न भ्याएका छैनन् ।

सिन्धुली कलाघर देशकै सांस्कृतिक सम्पदा हो । यसको वृद्धि विकास सबैबाट सम्भव छ । सुमनको सपनामा सबैका श्रम, सीप र समय आवश्यक पर्छ । सिन्धुली कलाघरका कलाकारका कला र प्रतिभा देखेर सरकारी, गैरसरकारी एवम् सामाजिक संघसंस्थाहरुले पुरस्कृत गरेका छन्, सम्मान गरेका छन् र प्रशंसा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *