गुरुदेव कामतको जस्तो मृत्यु कुनै पनि कलाकारको नहोस् – Nepal Press
ब्लग

गुरुदेव कामतको जस्तो मृत्यु कुनै पनि कलाकारको नहोस्

शास्त्रीय संगीत साधक गुरुदेव कामतको निधनले समाजलाई शोकमग्न बनाउनुभन्दा बढता उद्वेलित बनायो । मधेशमा उनको महानिर्वाणमा श्रद्धाञ्जलीको साथसाथै राज्य र उसको विभिन्न निकायप्रति कटाक्ष गरिएका स्टाटसहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् । मृगौला बिग्रिएर उपचाररत मूर्धन्य संगीत साधक गुरुदेव कामत उपचार खर्च नभएपछि काठमाडौंबाट सिरहास्थित पुर्ख्यौली घर पोखरभिण्डा फर्किएको समाचार दुई साता अघिदेखि प्रवाह भइरहेको थियो । उनी चिकित्सा सेवा र ओखतीमूलो नपाई कष्ट सहेर दुई सातासम्म घरमै थलिए । साउन १७ मा उनले सदाका लागि आँखा चिम्ले ।

संगीतका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाएका शास्त्रीय गायनका हस्ती र स्वरका धनी गुरुदेव कामतले ‘डायलासिस’ गर्ने रकम नभएर अस्पताल छाड्नुपर्‍यो, पीडा र सास्ती सहेर प्राण त्याग्नुपर्‍यो । गुरुदेवको शवयात्रा निस्किनुअघि मधेशभर सामाजिक सञ्जाल तात्तियो । सामाजिक सञ्जालमा मानिसहरुले राज्यलाई बर्बर, कमजोर वर्गप्रति संवेदनाहीन र मधेशीप्रति उपेक्षा तथा विभेदकारी भनेर आक्रोश पोखे । सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिहरुमध्ये एउटामा भनिएको थियो- ‘गुरुदेव जस्ता नागरिकले भोक लाग्दा खान नपाइ र रोग लाग्दा उपचार नपाइ मर्नुपर्ने समाजलाई २१ औं शताब्दीको वर्तमान परिवेशमा सभ्य समाज र न्यायपूर्ण राज्य भन्न मिल्दैन ।’

सत्ताधारीहरुको मृगौला बिग्रिँदा राज्यको करोडौं रकम खर्च गरिने र विदेशमा गएर पटकपटक प्रत्यारोपण गरी पुनर्जीवन पाएर पटकपटक सत्तारोहण गरेको हरेक नेपालीलाई ज्ञात छ । भीआईपी सूचीमा परेकाहरुको वा सत्ताले पत्याएकाहरुको उपचारमा सरकारको वर्सेनि अर्बौं रकम खर्च हुन्छ, तर सिरहाको ग्रामीण क्षेत्रमा एक गरिब परिवारमा जन्मिएका शास्त्रीय संगीतका एक नक्षत्रले पैसाको अभावले उपचार नपाई मृत्युवरण गर्नु पर्‍यो ।

कला, प्रतिभा, साधना र राष्ट्रको ख्यातिका खातिर गरिएको योगदानको दृष्टिकोणबाट गुरुदेव कामत असाधारण व्यक्तित्व थिए । साधना र साधकका हिसाबले शास्त्रीय संगीत एक दुरुह विधा हो । साधनाको विकट, पाषण मार्गमा लामो समयसम्म एकदुई पाल्सा रगत छाद्ने गरी छाती टेकेर यात्रा गर्ने कोही गुरुदेव कामत बन्न सक्छन् । संगीतमा सितिमिती त्यो स्तरको प्रज्ञा हासिल हुँदैन । यसर्थ गुरुदेव राष्ट्रका एक अमूल्य निधि थिए । गुरुदेव जस्ता प्रतिभा एक युगमा एक पटक जन्मिन्छन् ।

अन्य गायकले जस्तै भारतीय नागरिकता स्वीकार गरेर नेपाल त्यागेको भए उनले पनि मुम्बईमा महल बनाउन सक्थे, तर सानो जनसंख्या र संगीतको सानो बजार भएको आफ्नो देश नेपाल कामतले त्यागेनन् । ढिँडो-रोटो खाएर स्वदेशमै बसेर नेपाली संगीत क्षेत्रलाई उकेरा लगाइरहे, उजिल्याइरहे ।

राज्यले दुईचार लाख मात्र सहयोग गरिदिएको भए गुरुदेवको जीवनरेखा केही समय लम्बिन सक्थ्यो । कमसेकम सास्ती नझेली अस्पतालको शय्यामा उनको हृदय गति बन्द हुन्थ्यो, तर जाति र वर्ण विशेषलाई विशेष महत्व दिने समथर क्षेत्रका उपेक्षित मधेशीलाई हेंलाहोचो गर्ने विभेदकारी राज्यको चरित्र कामतको स्वास्थ्योपचारमा पनि प्रकट भएरै छोड्यो । मृत्युपछि पनि उनको सम्मानमा सरकारले दिनुपर्ने यथोचित राजकीय सम्मान देखाउन कञ्जुस्याइँ गरियो । संघीय सरकारले एउटा शोक सन्देश पनि जारी गर्न सकेन ।

गुरुदेव कामत मृत्यु प्रकरणले दुइटा कुरा प्रष्ट्याएको छ । पहिलाे- संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि न्याय र समानताको लडाइँ अझै बाँकी छ । दोस्रो- मधेशी राष्ट्रियताको संरक्षण र जगेर्ना गर्ने हेतु बनेको मधेश प्रदेश सरकार र स्थानीय सरकारहरुको चरित्र पनि संघीय सरकारकै रंगमा रंगिएको छ । किसान नेता स्वर्गीय बलदेव रामले भने जस्तै ‘सामन्ती चरित्र पहाडिया र मधेशी दुबैको उस्तै हुन्छ । जसरी कौवा पहाडको र मधेशको कालै हुन्छ ।’

गुरुदेव कामत जस्तो मधेशी सितारा प्याकप्याक्ती भएर उधर्व स्वास लिइरहँदा पनि सिरहाका कुनै स्थानीय सरकार वा मधेश प्रदेश सरकारको घैंटोमा घाम लागेन । यतिसम्म कि मधेश प्रज्ञा प्रतिष्ठानले काम गराएको पारिश्रमिकमा समेत बेइमानी गर्‍यो । सोही कारण प्रतिष्ठानका अध्यक्ष रामभरोस काापडी ‘भ्रमर’को राजीनामा दिनुपर्ने आवाज उठेको छ । कुनै उद्योगी, व्यापारी, धनाढ्य वा संघसंस्थाले पनि आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर एउटा जुसको बोतल बोकेर पनि गुरुदेवलाई भेट्न गएनन् ।

गुरुदेव मधेशको एक अल्पसंख्यक, पछाडि पारिएका र गरिब परिवारमा जन्मिएका थिए । रामलीला र मधेशमा मञ्चन गरिने परम्परागत सांस्कृतिक नाचमा गीत गाउँदै उनले संगीत क्षेत्रमा वामे सारेका थिए । उनले शास्त्रीय संगीतमा नेपाल र नेपालीलाई विश्वस्तरीय चास्नी पिलाएका थिए । अन्य गायकले जस्तै भारतीय नागरिकता स्वीकार गरेर नेपाल त्यागेको भए उनले पनि मुम्बईमा महल बनाउन सक्थे, तर सानो जनसंख्या र संगीतको सानो बजार भएको आफ्नो देश नेपाल कामतले त्यागेनन् । ढिँडो-रोटो खाएर स्वदेशमै बसेर नेपाली संगीत क्षेत्रलाई उकेरा लगाइरहे, उजिल्याइरहे । साधना क्षेत्रअनुसार उनले चाकडी चाप्लुसी गर्न जानेनन् । कुनै सत्ताधारी पार्टी वा व्यक्तित्वसँग निकट हुन सकेनन् । गुरुदेवले संगीत साधनामा लाग्दा अतिरिक्त कमाइ गर्न र धन थुपार्न सकेनन् । फलतः एक कष्टकर, उपेक्षापूर्ण र घोर निराशापूर्ण गुमनाम मृत्युवरण गर्दै उनी बिदा भए ।

गुरुदेवको मृत्यु प्रकरणले नेपाली राज्य व्यवस्था र मधेशमा वामे सर्दै गरेको संघीयतामार्फत हुर्किन खोजेको मधेशी राष्ट्रियताका वाचाल तथा वाकपटु कथित उन्नायक मधेशीहरुको पनि धोती खुस्किएको छ । मधेश प्रदेश सरकारको बजेट २२ अर्बभन्दा माथि अंकमा छ, तर गुरुदेव जस्ता होनहार मधेशी ‘उगना’ (कवि विद्यापतिका एक पात्र)लाई उपेक्षाको अगुल्टोले हानेर बिदा गरिएको छ । गुरुदेवको आत्माले सायद कसैलाई माफ गर्नेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *