बुटवलमा नगर प्रहरीको ज्यादती, डोकोमा फलफूल बेच्ने महिलामाथि दुर्व्यवहार – Nepal Press

बुटवलमा नगर प्रहरीको ज्यादती, डोकोमा फलफूल बेच्ने महिलामाथि दुर्व्यवहार

रुपन्देही । बुटवलको अस्पताल लाइनमा डोकोमा फलफूल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको महिलाले गुनासो गरेका छन् ।

शनिवार डोकोमा फलफूल बेचेकी एक महिलालाई पुरुष नगर प्रहरीले लखेटेर लगाएको कपडासमेत च्यातिदिएपछि नजिक रहेका प्रत्यक्षदर्शीले विरोध गरेका थिए ।

नगर प्रहरी आएको देखेपछि सामान डोकोमा राखेर हिँड्दासमेत नगर प्रहरीले लखेटी–लखेटी सामान कब्जा गरिदिने गरेको सो क्षेत्रमा बसेर व्यवसाय गर्नेको भनाइ छ ।

शनिवार अस्पताल लाइनबाट नेपालगन्जरोडसम्म लखेट्दै गर्दा डोको बोकेको नाम्लो घाँटीमा झरेको र नगर प्रहरीले तान्दा घाँटीमा पासो लागेर झण्डै ज्यान गएको पीडित टिका श्रीस मगरले बताइन् ।

नगर प्रहरीले लछारपछार गर्दा टिकाको ब्लाउज च्यातिएर अर्धनग्न भएकी थिइन् । बुटवलको इटाभट्टीलाइनमा बस्दै आएकी उनले छोरा छोरी पढाउन र बिरामी श्रीमान् पाल्ने कुनै उपाय नभएर कहिले सडक पेटीमा त कहिले डोकोमा डुलाएर सामान बेच्दै आएको बताइन् ।

डोकोमा बोकेर बेच्न पनि नदिई लखेटेर सधैँ सताउने गरेको उनले बताइन् । ‘नगर प्रहरीले अस्पताल लाइनबाट लखेट्दै नेपालगन्जरोड पु¥याए, नाम्लो तान्दा घाँटीमा पासो लागेर झण्डै मारेनन्’–श्रीसले भनिन् ।

श्रीसमाथि नगर प्रहरीको ज्यादतीलाई प्रत्यक्ष देखेका बुटवलका युवा योगेन्द्र गौतमले आफू त्यहां पुगेर नगर प्रहरीलाई नरोकेको भए ती महिलाको घाँटीमा पासो लागेर ज्यान जानसक्ने अवस्था रहेको बताए ।

‘नगर प्रहरीले ज्यादती गरेको देखेपछि मैले त्यसो नगर्न भन्दा मसँग पनि झगडा गरे, ती दिदीको झण्डै ज्यान गएन’–उनले भने–‘यस्तो अमानवीय हर्कत नगर प्रहरीले रोक्नुपर्छ ।’

योगीकुटीकी नर्मदा भण्डारीले एक वर्षअघि नगर प्रहरीले लखेट्दा दुर्घटना भई खुट्टा भाँचिएको बताइन् । नगर प्रहरीबाट बच्न खोज्दा कारले हानेर खुट्टा भाँचिएपछि ८ दिन अस्पताल बस्दासम्मको एक लाख ४० हजार कारधनीले दिएका तर त्यसपछिको करिब डेढ लाख आफ्नो खर्च भएको भण्डारीले बताइन् । अहिले पनि खुट्टाभित्र स्टिलको रड रहेको हुँदा उपचार जारी रहेको उनले बताइन् ।

सडकबाट भागेर बजारका घर र होटेलमा आश्रय लिन पुगेको अवस्थामा समेत नगर प्रहरीले हातपात र दुर्व्यवहार गर्ने, सामान खोसेर लगिदिने गरेको बुटवल ११ मजुवाका इन्द्र नेपालीले बताए ।
नगर प्रहरीको ज्यादतीविरुद्ध आवाज उठाउँदा घरमै आएर धम्की दिने गरेको नेपालीले बताए ।

उनले अरू उपाय नभएर सडकमा सामान बेचेर गुजारा गर्ने नागरिकलाई लखेटेर, कुटपिट गरेर नभई निश्चित ठाउँ र समय तोकेर गरिखान दिनुपर्ने आफूहरूको माग रहेको बताए ।

‘उपमहानगरले यिनीहरू थोरै छन्, यिनको पक्षमा कोही छैन भन्ने ठानेर नगर प्रहरीमार्फत अमानवीय व्यवहार र दादागिरी शैली प्रदर्शन गरेको छ,यो रोकिनुपर्छ र नागरिक समाज,अधिकारकर्मीले हाम्रो मागमा बोलिदिनुपर्छ’–नेपालीले भने–‘मेयरको नारा एउटा छ, व्यवहार ठीक उल्टो छ ।’

अधिकारकर्मी रिमा बिसीले मर्यादित रूपमा बाँच्न पाउने हरेक नागरिकको नैसर्गिक मानवअधिकार हुने र हरेक नागरिकले आफूले रोजेको पेशा व्यवसाय गर्न पाउने बताइन् ।

‘नागरिकलाई चाहिने आधारभूत आवश्यकता परिपूर्तिकोे दायित्व लागि राज्यको हो, कुनै पनि बहानामा राज्य पन्छिन पाउँदैन्,सडक पेटीमा निश्चित समय र ठाउँमा गुजाराका लागि व्यवसाय गर्छौँ भन्ने उनीहरूलाई वैकल्पिक व्यवस्थापन गर्ने दायित्व राज्यको हो’–बिसीले भनिन्–‘राज्यका कुनै पनि निकायले नागरिकमाथि कुटपिट गर्नु, बल प्रयोग गर्नु धरपकड गर्नु मानवअधिकार उल्लंघन हो,भने महिलामाथि गरिने दुर्व्यवहार पनि हो कसैलाई पनि कुनै बहानामा बल प्रयोग गरी कुटपिट गर्ने लछारपछार गर्ने , महिलाहरूको कपडा च्यातिदिनु भनेको मानवता विरुद्धको गम्भीर अपराध हो उपमहानगर यसमा संवेदनशील र जबाफदेही हुनुपर्छ ।’

यता बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले व्यवसाय दर्ता गरेर सटरमा पसल चलाउनुपर्ने बताउँदै फुटपाथमा सामान बेच्न नदिन उपमहानगरले कडाइका साथ नियन्त्रण गरिरहेको प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “बुटवलमा नगर प्रहरीको ज्यादती, डोकोमा फलफूल बेच्ने महिलामाथि दुर्व्यवहार

  1. मेयर साब मानबता खोइ
    गरिब ले पनि बाच्न पाउन परो नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर