कति कमाउँछन् महिला भलिबल खेलाडी ? – Nepal Press

कति कमाउँछन् महिला भलिबल खेलाडी ?

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलबिल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगअन्तर्गत शनिबार भारतमाथि ऐतिहासिक जीत हात पार्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपालले ५ सेट खेलेर भारतलाई हराएको थियो ।

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपालले यसअघि भारतलाई कहिल्यै हराएको थिएन । नेपाल भलिबल संघ (एनभीए)ले यो प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । टोलीमा विभागीय टोलीका खेलाडीको वर्चस्व छ । टोलीमा नेपाल पुलिस क्लबका ४ तथा सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबका ३-३ जना खेलाडी छन् । यस्तै न्यु डायमन्ड एकेडेमीका ३ र गण्डकी प्रदेशबाट १ जना खेलाडी टोलीमा छन् ।

नेपाली टोलीमा पुलिस क्लबका शान्तिकला तामाङ, उषा भण्डारी, पुनम चन्द र कामना विष्ट छन् । एपीएफका कविता भट्ट, निरुता भट्ट र सरस्वती चौधरी, त्रिभुवन आर्मी क्लबका संगम महतो, सोफिया पुन र आरती सुवेदी तथा न्यु डायमन्डका सलिना श्रेष्ठ, प्रगति नाथ र सुमित्रा रेग्मी तथा गण्डकी प्रदेशकी अरुणा शाही नेपाली टोलीमा छन् ।

प्रमुख प्रशिक्षक जगदीश भट्ट विभागीय टोलीका खेलाडी धेरै भएकाले तयारीमा समस्या नरहेको बताउँछन् । ‘विभागका खेलाडीलाई आर्थिक र तयारीमा धेरै समस्या हुँदैन’, उनले भने, ‘पछिल्लो समय आकर्षक राशीका पुरस्कारहरु बढिरहेकाले खेलाडीको कमाइ पनि बढ्दो छ’, उनी भन्छन् ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । सरकारले केही वर्षअघि भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । पछिल्लो समय भलिबलले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरिरहेको छ । नेपाली महिला भलिबल टोलीले चार वर्षअघि आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो । त्यतिबेला भारतसँग उपाधि भिडन्तमा पराजित भएको थियो ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले संघको समन्वयमा राष्ट्रिय टीमका खेलाडीलाई वार्षिक ६० हजार रुपैयाँ अमेरिकामा बस्ने नेपालीबाट उपलब्ध हुँदै आएको बताए ।

‘अमेरिकामा बसिरहनु भएका नेपालीले मिलेर राष्ट्रिय टोलीको महिलातर्फ १२ र पुरुषतर्फ १२ जना खेलाडीलाई जनही वार्षिक ६० हजार रुपैयाँ उपलब्ध हुने गरेको छ’, उनले भने ।

यसबाहेक नेपालमा एनभीए क्लब लिग, एनभीए लिग, टाइगर कप, ढोरपाटन कप, मुख्यमन्त्री कप जस्ता प्रतियोगिता हुने गरेका छन् ।

‘एनभीए क्लब लिगको उपाधि राशी ३० लाख र एनभीए लिगको उपाधि राशी ४० लाख जति छ । टाइगर कपको उपाधि राशी पनि १५-२० लाख रुपैयाँ छ’, प्रमुख प्रशिक्षक भट्टले भने, ‘मुख्यमन्त्री कपहरुको उपाधि राशी पनि १५-२० लाख रुपैयाँ हुन्छ । अहिले खेलाडीको आयस्रोत राम्रो छ ।‘

भलिबल संघका महासचिव श्रेष्ठले खेलाडीका लागि सरकारले नै विशेष व्यवस्था गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर