बैंकहरूले थाहा पाउँदैनन् नागरिकता सक्कली कि नक्कली ? प्रहरीलाई सास्ती – Nepal Press

बैंकहरूले थाहा पाउँदैनन् नागरिकता सक्कली कि नक्कली ? प्रहरीलाई सास्ती

काठमाडौं । वैशाखको पहिलो साता प्रहरीले झापाकी सञ्जु पौडेललाई नियन्त्रणमा लियो, तर पौडेललाई पक्राउ गर्न प्रहरीलाई कम्ता सास्ती परेन ।

खासमा प्रहरीले रश्मि विश्वकर्मालाई खोजी गरिरहेको थियो । रश्मि विश्वकर्माको नाममा रहेको बैंक खातामा ठगी भएको रकम जम्मा भएको पाइएपछि प्रहरी रश्मिको पछाडि लागेको थियो ।

प्रहरीले बैंक खाता खोल्न प्रयोग गरिएको नागरिकताको प्रतिलिपि झिकायो । नागरिकताको विवरणअनुसार प्रहरी ठेगानासम्म पुग्यो, तर रश्मि भेटिएनन् । उनको तस्विर हेर्दा नागरिकतामा प्रयोग भएको फोटोसँग मेल खाएन,

नागरिकता नम्बर भने मिल्यो । अनुसन्धानका क्रममा पछि नियन्त्रणमा आएकी रश्मिले आफ्नो नागरिकता केही समयअघि हराएको जानकारी प्रहरीलाई गराइन् ।

अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागरिकता दुरुपयोग भएको हुनसक्ने प्रारम्भिक आशंका गर्‍यो ।

नभन्दै बैंक खाता खोल्दा नागरिकतामा फोटो भएकी झापाको अर्जुनधारा- ९ की सञ्जु पौडेल पक्राउ परिन् । सञ्जुले नै रश्मिको नागरिकता कीर्ते गरेर बैंक खाता खोलेको निष्कर्ष प्रहरीले निकाल्यो । यसरी खोलिएको खातामा अनलाइन ठगीमार्फत पीडितबाट आएको रकम जम्मा भएको थियो । प्रहरीले सञ्जुको साथबाट विभिन्न व्यक्तिका ६ वटा नागरिकता, थुप्रै सिमकार्ड पनि बरामद गरेको थियो ।

साउनको पहिलो साता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाका ३४ वर्षीय ध्रुवकृष्ण शर्मालाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार शर्माले २ वर्षअघि धनुषाका सन्तोषसिंह दनुवारको नागरिकतामा आफ्नो फोटो टाँसेर एक विकास बैंकमा खाता खोलेका थिए । चेक बाउन्ससम्बन्धी उजुरी परेपछि बैंकले पनि नागरिकता दुरुपयोग भएको चाल पाएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले नागरिकता भेरिफाइमा ध्यान नदिँदा यस किसिमको समस्या आएको बताउँछन् । हराएका नागरिकताहरुको बढी दुरुपयोग हुने गरेको उनले बताए ।

यस्तै घटनामा गत माघमा पनि काठमाडौंबाट एक महिला पक्राउ परेकी थिइन् । कागेश्वरी मनोहरा नगरपालिका- २ घर भएकी ४० वर्षीय सरस्वती खड्काले दिएको चेक बाउन्स भएपछि प्रहरीले नागरिकता कीर्ते गरेर बैंक खाता खोलिएको पत्ता लगाएको थियो । अन्य घटनामा जस्तै सरस्वतीले पनि नागरिकतामा फोटो आफ्नो राखेर बैंकलाई विश्वास दिलाएकी थिइन् ।

रश्मि विश्वकर्माको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत निर्दोष व्यक्ति फस्नबाट जोगिएको बताउँछन् । ‘नागरिकताको अन्य विवरण सबै मिलेको थियो, तर पनि हामीले रश्मिलाई निगरानीमा मात्र राख्यौं र सम्भावित अन्य व्यक्तिहरुको खोजी गर्‍यौं’, अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन् ।

आफू जोगिन अरुको नागरिकता दुरुपयोग गरेर बैंक खाता खोल्ने, पैसा नभएको चेक दिएर ठगेको घटना हरेक वर्ष बाहिर आउने गरेका छन् ।

गत वर्ष मकवानपुरको बागमती नगरपालिकाका विनोद पौडेलले दुइटा फरक फरक कीर्ते नागरिकताबाट दुइटा बैंकमा खाता खोलेको पाइएको थियो । उनले काटेका चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । नागरिकताबारे बुझ्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले त्यस्तो विवरण भएको नागरिकता जारी नभएको जवाफ पठाएपछि पीडित र प्रहरी दुवै झस्किएका थिए । विनोदको बयानअनुसार ती नागरिकता उनलाई एक साथीले बागबजारमा बनाएर दिएका थिए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेलले नागरिकता नम्बर र त्यसमा प्रयोग भएको फोटो सम्बन्धित व्यक्तिको हो कि होइन भनेर थाहा पाउने ‘सिस्टम’ नभएको बताउँछन् ।

‘नागरिकता हेर्दा शंका लाग्यो भने अन्य डकुमेन्ट हेर्ने भन्ने व्यवस्थै छ, तर हाम्रै सिस्टमबाट नागरिकता झूटो वा सही भनेर थाहा पाइहाल्ने अवस्था अहिले छैन’, प्रवक्ता पौडेलले भने ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा बैंकहरु ‘लिंक’ भएपछि यस्तो समस्या हट्ने उनको विश्वास छ । ‘हामीले सबै बैंकहरु यो सिस्टममा लिंक हुनुपर्छ भनेका छौं’, उनले भने ।

बैंक खाता भाडामा !

२०७९ चैतमा प्रहरीले काठमाडौंमा ९ चिनियाँ र १० जना नेपालीलाई पक्राउ गर्‍यो । चिनियाँ गिरोहले ठगी गरेको रकम जम्मा गर्न नेपालीको खाता प्रयोग गरेको थियो ।

नेपालीको बैंक खाता जम्मा गर्न एक नेपालीले मध्यस्थता गरेका थिए । त्यसरी बैंक खाता उपलब्ध गराएबापत खातावालालाई मासिक १० हजार रुपैयाँ दिने भनिएको थियो ।

अनुसन्धानका क्रममा त्यसरी बैंक खाता दिनेहरु पनि पक्राउ परेका थिए । मासिक पैसा पाउने लोभमा खातावाला आफैंले पैसा निकालेर गिरोहलाई दिने गरेको पनि पाइएको थियो । गत वर्ष काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली आर्थिक अवस्था कमजोर भएका एक व्यक्तिको बैंकको खाताको कारोबार देखेर छक्क पर्‍यो ।

कैलालीका रामविलास थारुको बैंक खातामा पछिल्लो एक वर्षमा मात्र १७ करोड रुपैयाँको कारोबार भएको थियो । उक्त खाता थारुले नचलाएको यकिन गरेपछि प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढायो ।

‘खातामा प्रयोग भएको मोबाइल नम्बरसहित हामीले कैलालीकै दिनेश खड्कालाई पक्राउ गर्‍यौं । उनले अरुको बैंक खाता प्रयोग गरेर त्यसबाट आपराधिक कारोबार गर्ने रहेछन्’, अनुसन्धान अधिकृत भन्छन् ।

प्रहरीको सम्पर्कमा आएका चौधरीले आफूलाई खड्काले साथमा लिएर बैंकमा खाता खोल्न लगाएको र सबै डकुमेन्ट आफूले राखेको बताएका थिए । ‘खाता खोलेको दिन मदिरा खुवाइ दिएछन् । पैसा पनि दिन्छु भनेका थिए रे, तर रामविलासले पाइसकेका रहेनछन्’, ती अनुसन्धान अधिकृतले भने ।

प्रहरीका अनुसार वान एक्स बेटको रकमको कारोबारका लागि खड्काले थारुको बैंक खाता प्रयोग गरेका थिए ।

गत असारमा अनलाइन क्यासिनो खेलाएको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये रुपन्देहीका २४ वर्षीय नितेश हरिजनले आफूले वान एक्स बेटमा पैसा हार्दै गएपछि एजेन्टले अरु व्यक्तिको बैंक खाता उपलब्ध गराए कमिसन दिने प्रलोभन दिएको बयानमा खुलाएका थिए ।

हरिजनले उपलब्ध गराएका तीन जना बैंक खाताका धनी पनि प्रहरी हिरासत पुगेका थिए । उनीहरुको बैंक खातामा लाखौं रुपैयाँ कारोबार भएको पाइएको थियो । प्रहरी अनुसन्धानमा हरिजनले पनि कमिसनको लोभ देखाएर अरु व्यक्तिको खाता प्रयोग गरेको खुलेको थियो ।

अरुको नागरिकताबाट सिमकार्ड, सिमकार्डबाट वालेट खोलेर अपराध

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही दिनअघि आफूलाई बैंक तथा वालेटहरुको कर्मचारी बताएर ठगी गर्ने गरेको आरोपमा रौतहटका दुई युवालाई पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार पीडितहरुको वालेट नियन्त्रणमा लिएपछि उनीहरुले त्यसबाट अन्य वालेट र बैंक खाताहरुमा पैसा पठाउने गरेका थिए । त्यसरी ट्रान्सफर गरिएको पैसा अर्कैको नागरिकता प्रयोग गरेर खोलिएका वालेटहरुमा जम्मा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘आफू अपराधबाट जोगिन अर्कैको नागरिकता प्रयोग गरेर वालेटहरु खोल्ने र त्यसमा आपराधिक गतिविधिको रकम जम्मा हुने गरेको विगतका अनुसन्धानबाट देखिन्छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भट्टराई भन्छन् । अनलाइन ठगीका यस्ता थुप्रै घटनामा नागरिकता दुरुपयोग गरेर खोलिएका वालेटहरुको प्रयोग हुने गरेको विभिन्न अनुसन्धानहरुबाट देखिन्छ ।

गत वर्ष भक्तपुरबाट पक्राउ परेका वान एक्स बेटका कारोबारी सुनिल चौगुठीले आफूले विभिन्न ठाउँबाट नागरिकताका प्रतिलिपि खरिद गरेको र त्यसबाटै सिम निकालेर वालेटहरु खोलेको प्रहरीलाई बताएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नागरिकताबाहक बाहेकका व्यक्तिलाई सिमकार्ड दिन नहुने बताए । ‘नागरिकता जसको हो, सोही व्यक्ति उपस्थित भएमात्र सिमकार्ड दिनुपर्ने भन्ने व्यवस्था छ । अरुको नागरिकतामा सिमकार्ड वितरण गरेको भन्ने उजुरी परे कारबाही गर्छौं’, पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *