सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता – Nepal Press

सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले आज एकै पटक शपथ लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए । मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

सत्ता साझेदार दलहरूबीच यसअघि नै मुख्यमन्त्रीसहित आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने, भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय एमालेले पाउने सहमति भएको थियो ।

त्यस्तै कांग्रेसले २ र एमाले १ जना राज्यमन्त्री पाएका छन् । भागबन्डाअनुसार आफ्नो पार्टीले पाएको मन्त्रालयमा कांग्रेस र एमालेले मन्त्रीहरू सिफारिस गरेका थिए । संसदीय दलले गरेको सिफारिसअनुसार मुख्यमन्त्री शाहले काङ्ग्रेसबाट २ मन्त्री र २ राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका थिए । एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिए ।

मुख्यमन्त्री शाहले मेघराज खडकालाई सामाजिक विकासमन्त्री र सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री बनाएका छन् । बहादुरसिंह थापा आर्थिक मामिलामन्त्री र प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री भएका छन् ।

एमालेको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहरकारीमन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की भएका छन् । यी तीनै जना यसअघिको सरकारमा पनि सहभागी भएका थिए । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी निर्मला साउँदले पाइन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एकै समयमा मन्त्रीमण्डलले पूर्णता पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर