८४ सालको चुनावमा संविधान संशोधनलाई एजेण्डा बनाएर जान कांग्रेस-एमालेलाई माओवादीको चुनौती (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले कांग्रेस र एमालेले विकासको नाममा संघीयतामाथि र स्थायित्वको नाममा निर्वाचन प्रणालीमाथि कैंची लगाउन खोजेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार प्रतिगमनतिर जान खोजेको जिकिर गरे ।
उनले भने, ‘यहाँ बहुमत र अल्पमतको कुरा छैन । सहभागितामूलक लोकतन्त्रबाट फर्काएर फेरि अल्पमत र बहुमतको राज गर्न खोज्नुभएको छ । यो प्रतिगमन हो, यसलाई अग्रगमन भन्न सकिँदैन । दुई दलीय प्रणालीको कुरा गरिराख्नु भएको छ, यसलाई कसरी बुझ्न सकिन्छ ? लोकतन्त्रमा विचार र विधिको कुरा हुन्छ । संख्याले अर्थ राख्दैन । बहुमतको नाममा गर्न खोजेको निर्णय राष्ट्र र जनताको हितमा छैन ।’
सांसद बस्नेतले कांग्रेस-एमालेलाई ८४ सालको निर्वाचनमा संविधान संशोधन एजेण्डा लिएर चुनावमा जान चुनौती दिए ।
उनले थपे, ‘जनअनुमोदनको कुरा गरिराख्नु भएको छ, तपाईंहरुले त्यसबेला संविधान संशोधनको मुद्दा लिनुभएको थियो ? जनताको नाममा घात गर्न पाइँदैन । तपाईंहरुलाई संशोधन चाहिएको भए २०८४ को चुनावमा संविधान संशोधनको एजेण्डा लिएर जानुस्, जनअनुमोदित भएर आउनुस् । संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् । स्थिरता र विकासको नाममा मुलुकलाई अस्थिरतारको भूमरीमा पार्न मिल्दैन ।’
पूर्वऊर्जामन्त्री बस्नेतले डेडिकेटेड र ट्रङ्कलाइन महसुल उठाउन छोडेर छुट दिन लागेकोप्रति आपत्ति जनाए । महसुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो भन्दै उनले प्रश्न गरे ।
उनले प्राधिकरणमा सरकारको निर्णयविरुद्ध फरक मत राखेको आधारमा कारबाही गर्दै जाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै नसक्ने टिप्पणी गरे ।