कानून र नीति बन्न नसके त्यो सपना मात्रै हुँदोरहेछ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पहिलो प्राथमिकता शुरु गरेको काम सम्पन्न गर्ने रहेको बताएका छन् ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माणको गति सुस्त रहेको बताएका हुन् ।
कँडेलले चार वटा विषयलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । जसमा सुरु गरेका काम सम्पन्न गर्ने, व्यवस्थित र पारदर्शी तरिकाले योजना छनौट, कानून र निति निर्माण तथा समसामयिक सुधार र समन्वय तथा सहकार्य रहेको जानकारी दिए ।
उनले भने, ‘जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने हुँदा यस्तो अवस्था परिवर्तन गर्नुपर्छ । म केही उदाहरण प्रस्तुत गर्छु । आर्थिक वर्ष २०७७÷०७८ मा बारेकोट गाउँपालिका वडा नं. ८ को साँघुतारा र नलगाड नगरपालिकाको वडा नम्बर ५ जोड्ने पुलको ठेक्का भएको रहेछ । ३ वर्षमा एक प्रतिशत पनि प्रगति नगर्ने यस्तो विकासको मोडल बोकेर हामी समृद्धिको गफ गरिरहेका छौं ।’
तीन वर्षसम्म पनि सम्पन्न नहुने विकास मोडेलले कर्णालीको समृद्धि हुन नसक्ने भन्दै यसलाई बदल्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
मुख्यमन्त्री कँडेलले २०८१ असार गसान्तसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेमा बड्डीचौर– विउरेनी बाबियाचौर सडक खण्डको प्रगति अहिलेसम्म जम्मा २५ प्रतिशत मात्र सम्पन्न भएको जानकारी दिए ।
कँडेलले भने, ‘कुनै बाधा अवरोच छैन, काम गरेको रकम भुक्तानीमा कुनै समस्या छैन, तर कामको गति उस्तै छ। बाटो विजोग छ। नागरिकको गाली खाइरहनुपर्ने अवस्था छ । यस्ता धेरै रेकर्डहरु मैले भेटाए ।’
यस्ता विकासका मोडेलको अव अन्त्य गर्नुपर्नेमा जोड दिए ।
आयोजना निर्माणमा देखिएको यस्तो खालको अनुशासनहीनता अन्त्यको लागि आफ्ना कदमहरु कठोर बनाएर अगाडि बढ्ने मुख्यमन्त्री कँडेलले भनाइ राखे ।
‘प्रत्येक वर्ष नयाँ आयोजनाहरु थप्दै जाने तर भइहरेका आयोजनाहरु सम्पन्न गर्न ध्यान नदिने विद्यमान प्रवृतिलाई अन्य गर्ने पर्दछ’, उनले भने, ‘प्रदेश सरकार अन्तर्गत अहिलेसम्म शुरु भएका र प्रतिफल दिन सक्ने सबै आयोजनाहरुलाई समयमै सम्पन्न गर्नमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौं ।’
मुख्यमन्त्री कँडेलले चार वटा काम गर्ने प्रतिबद्धता गरे । जसमा पहिलो जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि रहेको जानकारी दिए ।
प्रयाप्त जनशक्तिको अभावमा विकास निर्माणका कामहरु समयमै सम्पन्न नहुने र वर्षासम्म त्यसैमा अलमलिने मानसिकतालाई अब बदल्ने बताए । प्रदेश सरकारले लोक सेवा आयोग तथा प्रचलित विधि र स्थापित मापदण्डमा रहेर जनशक्तिको व्वस्थापनमा विशेष ध्यान दिइने भनाइ राखे । रिक्त जनशक्तिमा लोक सेवा आयोगमार्फत हुने प्राविधिक कर्मचारीहरुको पदपूर्तिको लागि सरकारले विशेष सहजीकरण गर्ने जानकारी दिए ।
हाम्रा योजनामा नागरिकको अपनत्व कति बढाउन सक्यो ? अब यस विषयमा गम्भीर समिक्षा गर्नेपर्ने हुन्छ मुख्यमन्त्री कँडेलले भने,ञविकास नागरिकको लागि हो र यो साझा अभियान हो भने विषयलाई बुझाउन हामीले नागरिकलाई जति ढिलो गर्याे त्यतिनै योजना छनौटका बेथिति बढिरहन्छन् । नागरिकहरु योजना बोकेर अब मन्त्रालय होइन स्थानीय कार्यालयमा जाने परिपाटीको विकास गर्न सक्यौ भने मात्र योजना छनौटमा लगातार उठदै आएको प्रश्नको सहज जयाफ दिन हामी सक्षम हुनेछौं ।ञ
विकास र समृद्धिका सपना जतिसुकै देखेपनि आवश्यक कानून र नीति बन्न सकेनन् भन्ने त्यो सपना मात्रै हुँदोरहेछ मुख्यमन्त्री कँडेलले भने ।
सरकारको अर्को प्राथमिकता भनेको प्रदेशको साझा तथा एकल अधिकारको विषयमा कानून निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने र समसामयिक सुधार गर्ने रहेको जानकारी दिए ।
यस्तै, प्रदेश प्रहरी विधेयक छिट्टै नै प्रदेशसभाबाट पारित हुने क्रममा रहेको जनाए । प्रदेश निजामति सेवा ऐनलाई थप समसामयिक बनाउन संशोधनको प्रक्रिया शुरुवात भएको जानकारी दिए ।
त्यस्तै, कर्णाली प्रदेशभित्रका गैरसरकारी संघसंस्थाको अभिलेख र नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको बताए । बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रमलाई नविन अवधारणासहित सञ्चालन गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्ने प्रकृयामा रहेको छ भने सडक विधेयकको सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषदमा पेश भएको जनाए ।
कोहलपुर– सुर्खेत १३२ केभि प्रसारण लाइनमा विभिन्न समस्या आउने गरेको बताए । उक्त समस्याको समाधान गर्दै यस बर्षको चैत र बैशाखसम्म १३२ केभि प्रसार लाइनको पहुँच पुग्ने उनले बाचा गरे ।
प्राथमिकताका आधारमा प्रदेशको लगानी पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा सामाजिक संरक्षण जस्ता ठाउँहरुमा केन्द्रित गराउने मुख्यमन्त्री कँडेलले बताए । लगानीहरुलाई रोजगार केन्द्रित बनाउने गरि नितिगत व्यवस्था गर्ने जानकारी दिए ।
कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि उपजमा क्रमशः आत्मनिर्भर बनाउने भनाइ राखे । कृषिको आधुनिकीकरण र व्यवसायीकरण मार्फत उत्पादन बढाएर कृषि उपजको निर्यातमा जोड दिने भनाइ राखे ।