पशुपति कोटिहोममा सिद्दबाबाको इन्ट्री, मिडियामाथि गरे कडा प्रहार
‘टीआरपीका लागि धार्मिक व्यक्तित्वको बदनाम गर्ने काम हुँदैछ, तर यो महायोगी डराउनेवाला छैन’
काठमाडाैं । पशुपतिमा आयोजित कोट होम महायज्ञको २१ औं दिनमा जगदगुरुका नामले परिचित सिद्दबाबा कृष्णदास महाराजको इन्ट्री भएको छ । उनलाई आज दिउँसो महायज्ञ स्थलमा भव्य स्वागत गरियो ।
कथावाचिका चन्द्रकला सखीले श्रीराम कथा वाचन गर्दै गर्दा सिद्दबाबाको आगमन भएको थियो । स्मरणीय छ कि चन्द्रकला सिद्दबाबाकी शिष्य हुन् । उनले स्वस्तिवचनसहित आफ्नो गुरुलाई स्वागत गरिन् ।
उनले भनिन्, ‘मेरो श्री सद्गुरुदेव भगवानको आज यहाँ दिव्य आगमन भएको छ । यो भन्दा मेरो हृदय गदगद भइरहेको छ कि उहाँकै कृपा र आशिर्वादले आज म यहाँ हजुरहरु समक्ष श्रीरामकथा वाचन गरिरहेको छ । आज श्री सद्गुरुदेवको आगमनले श्रीराम कथा र यो यज्ञ पुर्ण भएको मैले अनुभव गरेको छु ।’
त्यसपछि सिद्दबाबाले महायज्ञमा आफ्नो प्रवचन दिए । उनको प्रवचन आध्यात्मिकभन्दा बढी समसामयिक थिए । उनी महायज्ञ आयोजक विजयकृष्ण मुर्तिको डिफेन्समा लामै समय खर्चिए । आफूलाई समेत निरन्तर खेदिरहेको भनेर नेपाली मिडियाहरुमाथि तिव्र असन्तुष्टि व्यक्त गरे । टीआरपीका लागि मिडियाहरुले आफूहरुमाथि आक्षेप लगाएको उनको आरोप थियो ।
शास्त्रीय मान्यताहरुलाई उल्लंघन गर्दै महायज्ञ आयोजना गरेको भनेर विभिन्न धार्मिक व्यक्तित्वहरुले लगाएको आरोपलाई सिद्दबाबाले खण्डन गरे । महायज्ञ आयोजनाको समय सही रहेको उनको दावी छ ।
सिद्धबाबाको सम्बाेधनका केही अंश
यो महायज्ञका आयोजक नेपाल आमाका सुपुत्र एक बालक छन् । समयबाट प्रताडित व्यक्ति, मातृभूमिप्रति स्नेह गरेर लगातार आफ्नो देशमा बसेर धार्मिक सांस्कृतिक अभियानमा लागेका अभियन्ता हुनुहुन्छ विजय कृष्णमुर्ति । उहाँ हृदयका स्नेहभाजन हुनुहुन्छ ।
श्रावणको महिना चातुर्मासको पवित्र पर्वको अन्तरगत भगवत आराधना सम्वन्धित दिव्यकर्म गर्नु शास्त्रअनुकुल छ । यो समयमा अन्य मांगलिक गृहकार्य निषेध छ । तर, भागवात आराधनाका लागि श्रावण महिना चतुर्मासको अवधि अतिउत्तम हो । त्यसमा पनि पाशुवत क्षेत्र आफैं परमसिद्द क्षेत्र भएकाले यहाँ दिव्य अनुष्ठान एक व्यक्तिको संकल्पमा हुनु प्रशंसनीय कार्य हो ।
आज म देख्दैछु, २०/२२ दिनदेखि लगातार संकल्पकालदेखि अहिलेसम्म बाहिर उठेका आवाजहरु पनि हेर्दैछु । म अहिले शास्त्रको गुण चर्चा नगरेर व्यवहारिक विषयमा चर्चा गर्न चाहन्छु । शास्त्रका रहस्यमय कुरा त वक्ताहरुले सुनाउँदै आउनुभएको छ । यस यज्ञले यतिखेर ४/५ हजार व्यक्तिलाई रोजगार दिरइरहेको छ । धर्मसंस्कार संस्कृतिमा नवजागरण ल्याएको छ । एउटै मञ्चबाट अनेक सम्प्रदाय र अनेक विद्वानहरुको सामूहिक उपस्थित गराएको छ । यति सुन्दर आयोजनाको हामी किन प्रशंसा गर्दैनौ ?
मिडिया सञ्जाल चलाउने मित्रहरु, तपाईंहरुले धार्मिक क्षेत्रका व्यक्तिहरुको विषयमा टिप्पणीहरु गरेर टीआरपी जम्मा गर्दै धन खुब कमाउनुभो । अब अलिअलि यहाँ ल्याएर खर्च गर्नुस् । मलाई थाहा छ, विजयकृष्ण मुर्तिको र मेरो पनि असहज समयको घटना जोडेर न्यूज बनाउनेहरु सल्बलाएका छन् । टीआरपी जम्मा गर्नका लागि कति मान्छे सल्बलाइरहेका छन् मलाई थाहा छ ।
मिडिया र सञ्चार क्षेत्रमा काम गर्नु धेरै महत्वपूर्ण छ । साथसाथै यो धेरै अपराधको पनि कार्य हो । जान्यो भने सिधै स्वर्ग प्राप्त गर्छ मिडिया र सञ्जाल चलाउनेहहरुले । जानेन भने समाजमा अपयस र निन्दा फैलाउँछ, वर्ग विभाजन एवं निन्दाको कार्य गर्छ भने अरुको नाश होस नहोस उसको र उसको कुलको नाश अवश्य हुन्छ । अरुको कमी–कमजोरी औंल्याएर प्रदर्शन गर्ने व्यक्तिलाई शास्त्रले सदैव निन्दा गर्छ । म तपाईंहरुलाई भन्छु, आफ्नो जीवन कल्याण गर्नुस । आफ्नो आत्मा कल्याण गर्नुस । क्षणिक फेसपेजको वृद्धि, लाइक र दुई रुपैयाँ आम्दानीका लागि आफ्नो बुद्धि विवेक र कुल वंशको नाश नगर्नुस् ।
सक्नुहुन्छ, तपाईंमा बुद्धि विवेक छ भने राष्ट्रमा नवनिर्माण गरेर देखाउनुस् । आज एक युवा आफ्नै देशमा बसेर सयौं बालबालिका, असहाय र वृद्धका लागि पसिना बगाउँछ भने उसको सहयोगमा हातेमालो किन नगर्ने ? एक भनाइ छ । हाति चले बजार, कुत्ता भुके हजार । यसले (यो विरोधले) केही फरक पर्नेवाला छैन ।
म पनि आफ्नो मातृभूमिबाट विश्वकल्याण गरौं भनेर नेपाललाई आयूर्वेद विश्वविद्यालय गिफ्ट गर्न आएको हो । तर यो साधुको पछाडि षडयन्त्र गर्नेहरुको ताँती लागेको छ । आ–आफ्नो टीआरपी बटुल्ने टेलिभिजनदेखि लिएर केही पत्रकारिता क्षेत्रलाई बदनाम गर्नेहरुको लाइन लागेको छ । तर, महायोगी सिद्दवावा डराउनेवाला छैन ।
हामी दिनरात खाइ नखाइ मातृभूमिको सेवामा लागेका छौं । म स्वयम्को नाममा रहने घर छ, न एक चिम्टी माटो छ । जे छ समाजलाई एकरुपतामा जोडेर हिँडिएको छ । त्यसैले निन्दा गर्नेहरुसँग कुनै डर छैन । मलाई यो महायज्ञमा जानु हुँदैन है महाराज इज्जत जान्छ भनेर पनि सुनाएका थिए । समाजको सेवा गर्ने त्यागी पुरुषको इज्जत के बेइज्जत के ? सम्मान के अपमान के ? यसले केही फरक पर्दैन ।
धर्मको नाममा क्रोध देखियो सबै टकाधर्म टकाकर्म भए छ पत्रकार देखि धर्मका ठेकेदारहरूले भनेको सुन्दा हामी कहाँ छौ यो विज्ञानको युगमा।