बंगलादेशको विद्यार्थी आन्दोलनप्रति नेकपा एस निकट अनेरास्ववियूको समर्थन, हसिना नेतृत्वको सरकार ढलेकोमा खुशी
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गर्दै पछिल्लो पटक निजामती सेवामा असमान आरक्षण प्रणाली खारेजीका लागि चर्किएको विद्यार्थी आन्दोलनपछि बंगलादेशको (शेख हसिना नेतृत्वको) तानाशाही सरकार सत्ताच्यूत भएको घटनाप्रति खुशी प्रकट गरेकी छन्।
विज्ञप्तिमा भनिएको छ, ‘समानताको पक्षमा बोल्दा सरकारी दमनको सिकार बन्नुपरे पनि नडगमगाएको बंगलादेशको विद्यार्थी आन्दोलनको अनेरास्ववियू उच्च प्रशंसा गर्न चाहन्छ। विद्यार्थीको शक्तिका सामु जस्तासुकै तानाशाहको पराजय निश्चित हुन्छ भन्ने यो एक अर्को ऐतिहासिक उदाहरण बनेको हाम्रो संगठनको निष्कर्ष छ। सरकारी सेवाको आरक्षण खास गरी निम्न वर्गीय समुदायका लागि हुनुपर्ने विद्यार्थी संगठनहरुको मागमा हाम्रो सुरुवात देखि नै ऐक्यबद्धता छ।’
आन्दोलनपछि सरकारले मच्चाएको बर्बरताको जति निन्दा गरे पनि कम हुने अनेरास्ववियूको ठहर छ।
अनेरास्ववियू विद्यार्थी आन्दोलनको रापबाट एउटा निरङ्कुश सरकार सत्ताच्यूत भए पनि पुनः सेनाले सत्ता हातमा लिनुले झन् खतरनाक तानाशाहको जन्म हुनसक्ने सम्भावनाप्रति सचेत हुन बंगलादेशी आम विद्यार्थी र जनसमुदायलाई अनुरोध गरेको छ।
बंगलादेशको विद्यार्थी आन्दोलनले उठाएको न्याय र समानताको मागको सम्बोधन हुनुपर्ने पक्षमा रहेको बताउँदै अझ समानताको लडाइँमा होमिएका विद्यार्थीहरूको जीवन रक्षाका लागि गम्भीर बनिदिन विश्व समुदाय समक्ष अपिल गरेको छ।