माओवादीलाई ‘कोशी’ नाम अझै अस्वीकार्य, ‘प्रदेश १’ कै ब्यानरमा बैठक
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठक बसिरहेको छ । बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विराटनगर आएका छन् ।
माओवादीले बैठकको ब्यानरमा भने ‘प्रदेश नम्बर १’ नै लेखेको छ । २०७९ साल फागुन १७ गते माओवादीका सांसदले कोशी नामकरणको पक्षमा मतदान गरेका थिए । पार्टी अध्यक्षको निर्देशन र सहमतिमा कोशीको पक्षमा माओवादीका १२ जना सांसदले भोट हालेका थिए ।
तर, पहिचानको आन्दोलन सुरू भएपछि माओवादीले माओवादीले पहिचान पक्षधरहरूलाई सघाउँदै आएको छ । पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै प्रदेश नम्बर १ पुन: नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन थालेपछि माओवादीका प्रदेश सभा सदस्यहरू समेत आक्रमणको निसानामा परेका थिए । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास समेत भएको थियो ।
स्वागत होटलमा सुरू भएको बैठकमा प्रदेश कमिटी र भूगोलमा रहेका सो कमिटीभन्दा उपल्लो तहका नेता उपस्थित छन् । बैठकमा पछिल्लो राजनीतिक परिवेश र पार्टीको भावी कदमबारे प्रचण्डले ब्रिफिङ गर्ने छन् ।
माओवादी केन्द्र कोशी प्रदेशका उपाध्यक्ष शिव डाँगीले बैठक भर्खरै सुरू भएको जानकारी दिए । उनले बैठकमा १४ वटै जिल्लाका संयोजकहरूले पार्टीको अवस्थाका बारेमा रिपोर्टिङको गर्ने कार्यसूची रहेको बताए ।