ग्लोबल टी-२० : रोहित लगातार तेस्रो खेलमा बेन्चमा
काठमाडौं । क्यानडामा जारी ग्लोबल क्यानडा टी-२० क्रिकेटमा नेपालका कप्तान रोहित पौडेल लगातार तेस्रो खेलमा बेन्चमा सीमित भएका छन् ।
रोहित आवद्ध टोरन्टो नेसनल्सले पछिल्लो खेलमा मन्ट्रेयल टाइगर्ससँग ७ विकेटले हार ब्यहोरेपनि प्ले अफमा भने पुगेको छ । यो खेलमा पहिला ब्याटिङ गरेको टोरन्टो केवल ५२ रनमा समेटिएको थियो । टोरन्टो चौथो भएर प्ले अफमा पुगेको हो । उसले पहिलो चरणमा तीन जित र तीन हारको नतिजा निकाल्यो ।
टोरन्टोले खेलेको दोस्रो खेलमा रोहितले खेल्दै ग्लोबल टी-२० मा डेब्यू गरेका थिए । त्यस खेलमा टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ८ विकेटले हराएको थियो । रोहितले एउटा क्याच लिएका थिए भने एक रनआउटमा सहयोग गरेका थिए । ब्याटिङमा भने उनले पालो पाएनन् ।
उनी लगातार दोस्रो खेलमा टीममा समेटिए पनि प्रभाव देखाउन सकेनन् । सर्रे जगर्सविरुद्ध १६२ रनको लक्ष्य पछ्याएको टोरन्टो ८१ रनमा समेटिएको थियो । पाँचौं नम्बरमा ब्याटिङमा गएका रोहितले २५ बलमा १० रन जोडेका थिए । त्यसयता रोहित प्लेइङ सेटमा परेका छैनन् । रोहितविनै खेलेका खेलमा टोरन्टोले २ हार र एक जितको नतिजा निकाल्यो ।
यो प्रतियोगितामा नेपालबाट सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि खेलेका थिए । तर, उनीहरू सहभागी भ्यानकोभर नाइट्स ५ हार र एक जितको नतिजासहित पुछारमा रहेर बाहिरियो ।