पार्टी बैठकमा प्रचण्डको सम्बोधन- हामीलाई दलाल पुँजीपति र विभिन्न गिरोहले भूलभूलैयामा पारे (भिडिओ) – Nepal Press

पार्टी बैठकमा प्रचण्डको सम्बोधन- हामीलाई दलाल पुँजीपति र विभिन्न गिरोहले भूलभूलैयामा पारे (भिडिओ)

'क्यान्टेन्टमेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु मेरो गल्ती थियो'

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु । म मात्रै होइन पदाधिकारी र तपाँईरु पनि प्रदूषित हुनु भएको छ ।’

‘जनयुद्धका बेला हजारौं होलटाइमर कार्यकर्ताहरू थिए । उनीहरूको व्यवस्थापन आफैंले गर्नु पर्छ भनियो । व्यवस्थापनका लागि हामी प्रहर्षित भयौं’, उनले भने, ‘कहिले मेहनत गरेर व्यवस्थापन गर्नु भयो अरूले २ नम्बरी गरेर व्यवस्थापनमा लाग्नु भयो ।’

अध्यक्ष प्रचण्डले दलाल पूँजीपतिहरूको भुल भुलैयाका कारण पार्टीमा समस्या भएको बताए । उनले भने, ‘हाम्रो पार्टीलाई दलाल पूँजीपति र विभिन्न गिरोहले भुल भुलैयामा पारे । हाम्रो पार्टी नेता र कार्यकर्ताहरूलाई प्रदूषित बनाए ।’

बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएको भन्दै यसैको फाइदा उठाएर दलाल पँुजीपतिहरुले पार्टीमा चलखेल गरेको प्रचण्डको दाबी छ । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीको विभाजनले आन्दोलन नै अर्कै मोडमा पुगेको स्वीकार गरे । उनले पार्टी विभाजन हुनुको कारण पनि आफू भएको बताए ।

उनले भने, ‘हामीले विद्रोह की चुनाव भन्ने कुरालाई छान्न सकेनौं चुनाव पनि भन्यौं र विद्रोह पनि । चुनाव र विद्रोह सँगसँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो । चुनाव पनि विद्रोह पनि भनेका कारण साथीहरूले पार्टी विभाजन गर्नु भयो । चुनावै हो भनेको भए पनि उहाँहरू जानु हुन्थेन ।’

‘पार्टी अध्यक्ष भएका नाताले यो गल्तीको जिम्मा पनि मै लिन्छु’, प्रचण्डले थपे, ‘क्यान्टेन्टमेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु मेरो गल्ती थियो । यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए । विद्रोह नै भनेको भए पनि हामी एक हुन्थ्यौ ।’

उनले गल्ती गर्न नछाड्ने पनि पार्टीको विशेषता भएको बताए । गल्तीदेखि डराउने पार्टी अगाडि बढ्न सक्दैन । उनले भने गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न नसक्ने दाबी गर्दै उनले गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि नपर्ने भएकाले हाम्रो पार्टी अरू पार्टी भन्दा फरक भएको बताए ।

उनले पार्टी विभाजन भए पनि पुन एकताको कुरा अगाडि बढेको बताए । उनले विभाजनमा गएकाहरूसँग रिस राग नभएको बताए । अहिले माओवादी केन्द्रसँग एकताका लागि छुटेर गएकाहरू तयार हुँदै गएको बताए । अहिले केन्द्रिकरणको कुरा भइरहेको बताए । या बीचमा धेरै नै प्रदूषित भएको बताए ।

उनले गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु पनि माओवादी आन्दोलनको गल्ती भएको बताए । उनले कोइरालालाई राष्ट्रपति हुनबाट रोक्न आफूमाथि प्रेसर भएको समेत खुलाए । उनले गिरीजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए राम्रो संविधान बन्ने जिकिर गरे । गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु आफ्नो गल्ती भएको उनले स्वीकारे ।


प्रतिक्रिया

One thought on “पार्टी बैठकमा प्रचण्डको सम्बोधन- हामीलाई दलाल पुँजीपति र विभिन्न गिरोहले भूलभूलैयामा पारे (भिडिओ)

  1. पूजीपति वर्गको नाईकेले अरूलाई भन्ने ? अनि साँची गल्ती र आत्मआलोचनाको यो कतिओैं भाग हो ? लाज नभए पछि मान्छेले जे पनि बोल्छ भनेको हो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर