प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध
काठमाडौं । बेलायतमा रहेकाे नेपाली दूतावासले त्यहाँ भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन नेपालीहरुलाई आग्रह गरेको छ ।
केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेको छ । दूतावासले एक सूचना जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदङ्गा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।
लन्डनस्थित नेपाली राजदूतावासले बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।
दूतावासले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न भनेको छ ।
साथै, बेलायतस्थित नेपाली सङ्घ/सङ्गठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
आपत्कालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासको फोन नं +44(0) 2072291594, +447404939274 र Email: [email protected], [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।