महासमितिमा पेस भएका प्रतिवेदनलाई संशोधनसहित पारित गर्दै कांग्रेस, चुनावी गठबन्धनबारे नबोल्ने ! – Nepal Press

महासमितिमा पेस भएका प्रतिवेदनलाई संशोधनसहित पारित गर्दै कांग्रेस, चुनावी गठबन्धनबारे नबोल्ने !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधवारबाट सुरु हुँदैछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ।

बैठकमा तीन एजेण्डामा केन्द्रित हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

उनका अनुसार पहिलो, महासमितिमा प्रस्तावित दस्ताबेजलाई अन्तिम रूप दिई पारित गर्ने, दोस्रो, कार्यसम्पादन र पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन र नियमित बैठक भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने।

उनले भने, ‘महासमितिको बैठकमा चार प्रस्ताव पेस भएको थिए। त्यसमा नीति, सांगठनिक र राजनीति प्रस्तावमाथि आएको सुझावको आधारमा परिमार्जनसहित भोलि बैठकमा प्रस्तुत भएर पारित हुन्छ।’

उनले दस्ताबेजहरूलाई अन्तिम रूप दिने काम भइरहेको बताए।

महासमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव संशोधनसहित केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरेको थियो।

यसअघि सत्ताको खेलमा लाग्दा फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकको निर्णय अलपत्र परेको थियो।

महासमितिको बैठकमा उठाइएको विषयमा असहमति पोख्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा गठबन्धन फेरेका थिए।

यद्यपि, अहिले कांग्रेस फेरि एमालेसँग मिलेर सत्तामा फर्किएपछि महासमितिको बैठकको प्रस्तावमा चासो देखाएको हो।

उपसभापति खड्काले पेस गरेको नीति प्रतिवेदनमा जनयुद्धलाई कथित र अनावश्यक सशस्त्र हिंसाको संज्ञा दिइएको थियो। महामन्त्री थापाको प्रतिवेदनमा कांग्रेसले चुनावअघि गठबन्धन नगर्ने विषय समावेश थियो।

केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि महासमिति बैठकमा हस्ताक्षर अभियान चलाइएको थियो।

त्यसबेला प्रचण्डले यही विषयलाई देखाएर गठबन्धन तोडेका थिए। तर, अहिले कांग्रेस एमालेसँग मिलेपछि संशोधनसहित आउने प्रस्तावमा माओवादीप्रति कडा टिप्पणी आउने निश्चित छ।

प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘त्यसबेलामा विशिष्ट परिस्थितिमा बनेको गठबन्धन जोगाउनुपर्छ भन्ने हाम्रो एउटा निष्कर्ष थियो त्यो विषय अहिले सकिएको छ। अब आगामी निर्वाचनमा कांग्रेसले एक्लै निर्वाचन जित्न सक्ने गरी सांगठनिक क्रियाकलाहरू गर्ने भन्ने विषय प्रस्तावमा उल्लेख छ। एक्लै चुनाव लड्छ भन्ने होइन।’

उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने गरी संगठन विस्तार र सुदृढीकरण गर्ने भन्ने विषयलाई पारित गर्ने बताए।

आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्छ भन्ने भाषा प्रयोग नहुने उनको जिकिर छ। महामन्त्री थापासहित इतर पक्षका नेताहरूले आगामी निर्वाचनमा एक्लै जानुपर्ने निर्णय गराउनुपर्ने अडान लिएका थिए। तर, सभापति देउवासहित महासमिति बैठकमा बोलेका अधिकांश नेताहरूले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने सुझाव दिएका थिए।

त्यसो त बैठकको एजेण्डाको विषयमा सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठक पनि बसेको थियो।

महासमिति बैठकबाट पारित भएका दस्ताबेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए।

उनले कांग्रेस किन सरकारमा छ र कसरी काम गर्छ भन्नेबारेमा पनि छलफल हुने बताए।

यस्तै, कांग्रेसले संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूलाई जिल्लामा पठाउने निर्णय गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनले भने, ‘पार्टी संगठनलाई जीवन्त, गतिशील बनाउन, सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई चार महिनाको समय दिएर जिल्लालाई सशक्त बनाउन पठाउनेबारे छलफल भएको छ ।’

भ्रातृ संस्थाहरूको महाधिवेशन चैत मसान्तसम्म गरिसक्न निर्देशक समिति बनाउने र त्यसले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले लिने बताए।


प्रतिक्रिया

One thought on “महासमितिमा पेस भएका प्रतिवेदनलाई संशोधनसहित पारित गर्दै कांग्रेस, चुनावी गठबन्धनबारे नबोल्ने !

  1. Gauu jau kammaaeko khau vote ta dihalchhan jantale lyappa.emalele sangga tyappa.kalkarkhana khanelai herau

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर