कांग्रेससँग मिलेपछि हौसिएका ओलीको योजना- मिसन ८४ लाई सफल पार्ने, एमालेलाई निर्णायक शक्ति बनाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको बताएका छन्।
एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टीमा अपानि जारी गर्दै सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाअनुरुप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको जिकिर गरे।
अपानि उल्लेख छ, नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन् ।
स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ । केन्द्र र प्रदेश सरकारमा हाम्रो महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको छ ।
अब मिसन ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको उल्लेख छ।
अपानिमा भनिएको छ, पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनु पर्दछ । स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ । म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु।
गत वर्षको वार्षिक कार्ययोजनाको समीक्षा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा गरेको समीक्षा प्रतिवेदनका आधारमा आगामी वर्षको वार्षिक कार्य योजना तयार गरी कार्यान्वयनमा लैजाने योजना रहेको उल्लेख गरेका छन्।
अपानिमा उल्लेख छ, परिषद्को बैठकमा अध्यक्ष कमरेडबाट प्रस्तुत र पारित राजनीतिक प्रतिवेदनका निष्कर्ष तथा महासचिवबाट प्रस्तुत संगठनात्मक कामको प्रतिवेदनका निष्कर्ष समेतका आधारमा आगामी वर्षको वार्षिक कार्य योजना तयार गरी भदौ महिनाभित्र पठाइनेछ । मिसन ’८४लाई सफल बनाउने गरी मातहत कमिटीले पनि सोहीअनुरुप आफ्नो कमिटीको वार्षिक कार्य योजना तयार
गर्नुपर्नेछ ।
वार्षिक कार्य योजना तयार गर्दा आ–आफ्नो कार्यक्षेत्रको विकासको योजना बनाउँदै प्रत्येक कमिटीले वार्षिक कार्ययोजनासँगै वार्षिक बजेट तयार गरी सोहीअनुसार काम अघि बढाउने अभ्यास थालनी गर्न निर्देशन दिएका छन्।