सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी कार्यालय सानेपामा बैठक जारी छ ।
महासमितिमा पेश भएका प्रस्तावहरूमा आएको सुझावका आधारमा परिमार्जनसहित बैठकले पारित गर्ने तयारी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव संशोधनसहित केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरेको थियो ।
बैठकले कार्यसम्पादन र पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन, नियमित बैठक भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र पार्टीको संगठन सुदृढ बनाउनेबारे पनि निर्णय लिनेछ ।
संगठनलाई जीवन्त, गतिशील बनाउन, सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई चार महिनाको समय दिएर जिल्लालाई पठाउने कांग्रेसको तयारी छ । यस्तै, भ्रातृ संस्थाहरूको महाधिवेशन चैत मसान्तसम्म गरिसक्न निर्देशक समिति बनाउनेछ ।
बैठकले सरकार र पार्टी संगठनलाई पनि प्रभावकारी बनाउनेबारे नेताहरुको धारणा सुनेर रणनीति तयार पार्ने बताइएको छ ।
तस्बिरहरू : उमेश कार्की ।