भलिबल टिमको ड्रेसिङ रुममा बालेन र सुनिता, भक्कानिइन् उषा – Nepal Press

भलिबल टिमको ड्रेसिङ रुममा बालेन र सुनिता, भक्कानिइन् उषा

काठमाडौं । काभा महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय टीमले उत्कृष्ट प्रदर्शनका बाबजुद उपाधि चुम्न सकेन । फाइनलमा भारतको तगारो पन्छाउन नसक्दा नेपाल उप-विजेतामा सीमित भएको छ ।

हिजो भएको फाइनल खेल हेर्न थुप्रै ‘भीआइपी’ दशरथ रंगशालाको साँघुरो कभर्डहल पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने कार्यक्रम थियो, तर हेलिकोप्टर दुर्घटनाका कारण आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेकाले उनी गएनन् ।

दर्शकको आकर्षणमा रहे काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल ।

नेपाल र इरानबीचको सेमिफाइनलमा पनि सुनिता कभर्डहल उपस्थित थिइन् । फाइनलमा पनि उनी समयमै पुगिन् । बालेन भने तेस्रो सेटको उत्तरार्द्धको खेल चल्दै गर्दा कभर्ड हल पुगेका थिए । बालेन आउँदा दर्शकले हुटिङ गरेका थिए ।

रोमाञ्चकरुपमा उक्त सेट नेपालले जित्यो पनि । तर, बाँकी दुई सेट लगातार पराजित भएर नतिजा भारतलाई सुम्पियो ।

खेलपछि बालेन र सुनिता दुवै नेपाली टिमको ड्रेसिङ रूपमा प्रवेश गरेका थिए । उनीहरूले नेपाली टिमका खेलाडीहरूको हौसला बढाउने प्रयास गरे ।

बालेनले भने, ‘सबैले राम्रो खेल्नुभयो । निराश नहुनुहोला । हामी त एकदमै खुशी छौं ।’

सुनिताले थपिन्, ‘यो पालि तपाईँहरूले आफ्नो क्षमताले भ्याउने जति राम्रो पर्फम गर्नुभयो । आगामी दिनमा अझै राम्रो गर्दै जानुहोला । आजको पर्फमेन्स बेस्ट थियो ।’

बालेन र सुनिताले सबैसँग ह्यान्डसेक गर्दै आभार प्रकट गरे । नेपाली टीमकी स्पाइकर उषा भण्डारीले भने त्यसबेला आफूलाई सम्हाल्न सकिनन् । उनी निरन्तर रोइरहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *