कांग्रेस लुम्बिनीको विवाद : प्रमुख सचेतक जन्मजयले दिए राजीनामा – Nepal Press

कांग्रेस लुम्बिनीको विवाद : प्रमुख सचेतक जन्मजयले दिए राजीनामा

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् ।

साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दवावमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।

साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउनेगरी पार्टीले प्रचार गरेपनि अन्तिम समयमा रोकेको थियो ।
पार्टी संस्थापन समूहमा रहेका उनलाई प्रदेशमा भने संस्थापन समूहकै नेताहरुले नरुचाएर यसो गरिएको स्रोतले जनाएको छ ।

‘उहाँ केन्द्रमा संस्थापन समूह खासगरी आरजुसँग निकट हुनुहुन्छ, तर प्रदेशमा उहाँकै समूहले पनि किनारा लगाउँदै आएको अवस्था छ, प्रदेशमा इतर समूहले पनि भागवण्डा मागेकाले रोकिएकोजस्तो लाग्छ तर अन्तिम समयमा यसो गरिँदा अन्याय भएको छ’, स्रोतले भन्यो ।

अहिले कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । संस्थापन समूहबाट ३ जना र इतर समूहबाट १ जना मात्रै परेका छन् । त्यही कारणले पनि तिमिलसिनालाई रोकिएको हुनसक्ने नेताहरुको आंकलन छ ।
राजीनामाबारे नेता तिमिल्सिनाले पुष्टि गरे ।

‘हो मैले राजीनामा दिएर काठमाण्डौ आएको छु, गाडी पनि प्रदेश सभा सचिवालयमा छाडेर आएको हुँ, स्वीकृत भयो वा भएन मलाई केही जानकारी छैन’, उनले भने, ‘मैले समय दिन पनि सकिन, अब अरु साथीहरुलाई पनि पालो दिनुपर्ने भयो, त्यसैले छाडेँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर