एमाले अनुशासन आयोगका उपाध्यक्ष भन्छन्- कसैमाथि कारबाही सिफारिस छैन, दुई नेताको चरित्रहत्या गर्न खोजियो
काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाहीको सिफारिस नगरेको जनाएको छ ।
आयोगका उपाध्यक्ष तथा छानबिन समितिका संयोजक नेत्रप्रसाद पन्थीले केही व्यक्तिले शाह र महरको प्रतिष्ठामा आँच आउने गरी कारबाहीको सिफारिस गरेको चर्चा चलाएर गलत गरेको जनाएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै उपाध्यक्ष पन्थीले अदालतमा मुद्दा चलिरहेको विषयमा आयोगले कारबाहीको सिफारिस गर्ने कुनै विषय नहुने प्रष्ट पारेका छन् ।
‘मेरो संयोजकत्वमा अछामका हर्कबहादुर कुँवर (गोविन्द) र कैलालीका दीपकप्रसाद देवकोटा सदस्य रहेको समितिले अध्ययन गरेको साँचो हो तर कुनै निर्णय गरेको केही छैन, यो सूचना गलत गयो यस्तो कसैलाई गर्नुहुँदैन’, उनले भने, ‘अहिले सदस्य दीपक देवकोटा प्रदेश प्रमुख बनेर पार्टी नै छाडेको अवस्था हो, मलाई नै जानकारी नभई कसले निर्णय गरेर सिफारिस गर्ने कुरा हुन्छ र ?’, कर्णाली प्रदेश अध्यक्ष शाह र र केन्द्रीय सदस्य महरका विषयमा परेको उजुरीका विषयमा आयोगले छानबिन मात्रै गरेको जनाइएको छ ।