प्रधानमन्त्री ओलीले बोलाएपछि लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौंमा
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणसहित ९ जना मन्त्रीले एकैपटक प्रदेश छाडेका छन् । उनीहरु सबै काठमाडौं केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जना मन्त्री काठमाण्डौं पुगिसकेका छन् ।
शुक्रबार प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसंग छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा(रोज)ले बताए ।‘प्रधानमन्त्री ज्यूले छलफल गर्ने भनेपछि हामी सबै मन्त्री काठमाडौंमा छौं, संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको बुझेका छौं’, उनले भने ।
मुख्यमन्त्री आचार्य २२ गते नै काठमाण्डौं पुगिसकेका थिए । उनले त्यहाँ राजनीतिक भेटघाट पनि गरे । प्रधानमन्त्रीले बाँकी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गर्ने भनेपछि अन्य मन्त्रीहरु पनि काठमाण्डौं पुगिसकेका छन् । प्रदेशको समीक्षा बैठकमा व्यस्त केही मन्त्री पनि काठमाडौं पुगेको पाइएको छ । वन तथा वातावारण मन्त्री बादशाह कुर्मीले आफू काठमाडौं पुगिसकेको बताए ।
बुधबार र बिहीबार वन मन्त्रालयको समीक्षा कार्यक्रम लमहीमा थियो । त्यो कार्यक्रमको बसाई छोट्याएर कुर्मी काठमाण्डौं पुगेका हुन् । लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री छन् ।