दलित वडा सदस्यको गुनासो- अध्यक्षज्यूले पुरै वडा घुमाइदिनु भएकै छैन (भिडिओ) – Nepal Press

दलित वडा सदस्यको गुनासो- अध्यक्षज्यूले पुरै वडा घुमाइदिनु भएकै छैन (भिडिओ)

चितवन । सुकमाया सुनार वडा सदस्य निर्वाचित भएको दुई वर्ष पुरा भइसक्यो । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा चितवनको एक मात्रै गाउँपालिका इच्छा कामनाको वडा नम्बर ७ बाट निर्वाचित भएकी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी वडा सदस्य नै थिइन् । यो उनको दोस्रो कार्यकाल हो ।

वडा सदस्य सुनारक दोस्रो पटक वडा सदस्य भए पनि गाउँपालिकाको बजेट विनियोजन प्रक्रिया, वडाको विकास योजनाको बारेमा उनलाई थाहा छैन । यतिसम्म कि आफ्नो गाउँपालिकाले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रमको रातो किताब भनेको के हो समेत जान्दिनन् ।

चालु आर्थिक वर्षमा इच्छाकामना वडा नम्बर ७ मा मात्रै संघ, प्रदेश र पालिकाको गरी ४ करोड बढी बजेट विनियोजन भएको छ । वडामा करिब ५ हजार हाराहारी जनसंख्या छ । भने एक हजार पाँच सयको हाराहारीमा घरधुरी छ ।

तर यी कुरा उनी जान्दिनन् । उनले पालिकाले आयोजना गरेको एक कार्यक्रममा खुलेरै भनिन्, ‘म पढ्न जान्दिन । जहाँ साइन गर भन्यो त्यहाँ नाम लेखिदिने हो ।’

११ वर्षमा बिहे भएकी सुकमायाको पहिलो सन्तान छोरी र आफूबीचमा १५ वर्षको फरक छ । उनी ५० कटिसकेकी छन् । उनले आफ्नो जीवनमा नौ जना सन्तान जन्माइन् । कुनै सन्तान जन्माउन पनि अस्पताल गइनन् ।

‘कुनैलाई करेसाबारीमा जन्माएँ, कुनैलाई बारीको कुनातिर जन्माएँ, उनले भनिन्, ‘छोराछोरी पाउन अस्पताल जानु परेन ।’

जन्मिएकामध्ये पाँच सन्तान जीवित छन् । सानैमा बाबुको मृत्यु र आमाको अर्को विवाह पछि काकाले हुर्काएकी उनले पढ्न पाइनन् ।

आफूलाई गाउँघरबाट कहिल्यै माथि जान नसक्ने भन्ने लाग्ने उनलाई दुई पटक वडा सदस्य चुनिएपछि चाहिँ बोल्न जान्ने भएँ जस्तो लागेको छ । बोल्न पाएकोमै खुसी आफ्नो वडामा चालु आर्थिक वर्षमा आएको ४ करोड बढी रकम कसरी प्रयोगमा आउँछ थाहा छैन ।

उनले कहिलेकाहीँ त वडा कार्यालयबाट कार्यालय सचिवलाई घरमै माइन्यूट पठाइदिएर वडा अध्यक्षले दिदी त्यहाँ साइन गरेर पठाइदिनु है भन्ने गरेको बताइन् ।

त्यति मात्रै होइन आफू निर्वाचित भएपछि आफ्नो पुरै वडा पनि घुम्न नपाएको उनको गुनासो छ । ‘एउटा कुरा चाहिँ वडा अध्यक्षलाई के भन्न मन छ भने मलाई पनि यो दाहखानी तिर सातै वडामा घुमाए हुन्थ्यो । म अझै सबैतिर घुम्न पाएको छैन, उनले भनिन्, ‘एक पटक चाहिँ वडाअध्यक्षसँग नै भने, उठाउने बेला उठाउनुभयो । अहिले चैँ किन वडामा नघुमाउने ? अब लगे जानुपर्ला, नलगे नजानुपर्ला अब के गर्ने त !’

वडा नम्बर ७ को पिपलटारमा रहेको सुनारको घरबाट गाउँपालिकाको कार्यालय पुग्नै भरतपुर महानगरपालिका पार गर्नुपर्छ । वडा नम्बर ७ का वडाध्यक्ष बमबहादुर थापामगरका अनुसार वडाको धेरै ठाउँमा सडकबाटो बने पनि पालिकाको कार्यालय जान २, ३ पालिका हुँदै जानुपर्छ । त्यो ग्रामीण बाटो हो । अहिलेको बर्खामा जान सम्भव हुँदैन ।

वडाध्यक्ष थापामगर आफूले चाहिँ पटक पटक वडाको सबै ठाउँ पुग्ने गरेको बताउँछन् । उनले वडा सदस्य सुनार आफैँ हिँड्न नसक्ने भएकोले उनी जान नसकेको दाबी गरे ।

‘हाम्रो पुरै वडा घुम्न ४ दिन जति लाग्छ’, वडा नम्बर ४ का वडाध्यक्ष थापामगर भन्छन्,  ‘म त निर्वाचित भएपछि पुरै वडा घुमेको छु । तर सुकमाया दिदी हिँड्न सक्नुहुन्न त्यही भएर उहाँ सबैतिर नपुग्नुभएको होला ।’

इच्छा कामनाको वडा नम्बर ७ नेपाली काँग्रेसको पाँचै जना प्यानल नै जितेको वडा हो । अघिल्लो कार्यकाल नै जितेको सबै जनाले यस पटक पनि जितेका हुन् । वडाध्यक्ष थापामगरको पनि यो दोस्रो कार्यकाल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर