निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना
काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा आरोपी बाद साह कुर्मीलाई मन्त्री बनाइएको भन्दै आजदेखि माइतीघरमा पुन: धर्ना सुरू गरिएको छ ।
अभियन्ता रुवी खानको नेतृत्वमा माइतीघरमा धर्ना सुरू गरिएको हो । बादसाह कुर्मीलाई मन्त्रीबाट हटाइनुपर्ने, हत्याको मुद्दा तत्काल अदालत लैजानुपर्ने र आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनीहरूको माग छ ।
मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएर दलहरूले संरक्षण गरेको भन्दै प्रदर्शनकारीले आलोचना गरेका छन् ।
यसअघि २०७८ सालमा खानसहित बाँकेका १४ जना तीन साता पैदल हिँडेर काठमाडौं माइतीघर मण्डलमा आन्दोलन र धर्ना बसेका थिए । गृहमन्त्रालयले सहसचिव रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिले कात्तिक १४ गते बादशाहसहित ८ जनाविरुद्ध अनुसन्धान गर्न सिफारिससहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो ।
मन्त्री कुर्मीले यो विषयमा अनावश्यक राजनीति भएको प्रतिक्रिया दिँदै आएका छन् ।