कांग्रेस नेताबाट अस्पताल भवन नामकरण गर्ने निर्णयले बुटवलका मेयर विवादित
रुपन्देही । बुटवलको आम्दा अस्पतालको २० वर्षअघि बनेको भवनलाई कांग्रेस नेता सूर्यप्रसाद प्रधानको नामसँग जोडेर नामकरण गरेपछि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे पुन: विवादित बनेका छन् ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नामकरण गर्ने निर्णयप्रति एमाले बुटवल उपमहानगर कमिटीले विरोध जनाएकव छ ।
साउन १६ गतेको अस्पताल व्यवस्थापन समितिको बैठकमा पाण्डेयले उक्त निर्णय गराएका थिए ।
यसअघि पनि पदस्थापनाको पहिलो निर्णयमा अन्तर्राष्ट्रिय प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको नाम राख्न खोजेपछि उनी विवादित बनेका थिए । उनको त्यो निर्णय अहिलेसम्म कार्यान्वयनमा गएको छैन ।
स्थानीय व्यवस्थापन समिति सेरेमोनियल भूमिकामा सहजीकरणको मात्रै काम गर्ने संयन्त्र भएपनि मेयर पाण्डेयले राजनीतिकरण गरेको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विज्ञप्तिमा जनाएका छन् ।
‘२० वर्ष पहिले निर्माण भईसकेको प्रशासनिक भवनलाई हाल आएर अमूक राजनितिक व्यक्तिको नाममा नामाकरण गर्ने अत्यन्तै त्रुटि पूर्ण निर्णय भएको छ, अतः पुरानो प्रशासनिक भवनलाई व्यक्तिसँग जोडेर नामाकरण गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भिर असहमति रहेको व्यहोरा जानकारी गराउँदै उक्त अपरिपक्क निर्णय तत्काल फिर्ता लिई आम्दा अस्पतालको गुरुयोजना अनुसार सेवा विस्तार तथा प्रभावकारी सञ्चालनको काम अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
२०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले सूर्यप्रसाद प्रधानले अस्पताल स्थापनामा खेलेको भूमिकाको सम्मानका लागि प्रशासनिक भवन उनको नाममा नामाकरण गर्ने प्रस्ताव नगर प्रमुख पाण्डेयले बैठकमा ल्याएको र आम्दा नेपाल तथा आम्दा इन्टरनेसनलका प्रतिनिधिले पनि समर्थन गरेर निर्णय भएको बताए ।
उक्त समितिमा बुटवलका पूर्वमेयर पनि पदेन सदस्य हुने व्यवस्था छ । पूर्वमेयर शिवराज सुवेदी बैठकमा अनुपस्थित भएको मौका छोपेर अस्पताललाई राजनीतिकरण गर्ने गरी भएको निर्णय एमाले लगायत अन्य दललाई स्वीकार्य नहुने एमाले नगर अध्यक्ष ज्ञवालीले बताए ।