कांग्रेस बैठकमा प्रस्ताव- नीतिगत भ्रष्टाचार हेर्न बेग्लै अधिकार सम्पन्न निकाय गठन गरौं – Nepal Press

कांग्रेस बैठकमा प्रस्ताव- नीतिगत भ्रष्टाचार हेर्न बेग्लै अधिकार सम्पन्न निकाय गठन गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बैठकमा नेकपा एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसले धेरै त्याग गरेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकार निर्माण गर्दा कांग्रेसले आफ्नो वैचारिक नेतृत्व स्थापित भए पनि कांग्रेसले त्यसको जस या लाभ भने लिन नसकेको बताए ।

उनले भने, ‘सरकारको नेतृत्व नेकपा एमालेको भएकाले यो सरकारले डेलिभरी दिने सम्बन्धमा नेपाली कांग्रेस जति नै नेकपा एमाले तथा सरकारको नेतृत्व जिम्मेवार हुनुपर्ने देखिन्छ । यो गठबन्धन किन ? यस सम्बन्धमा नेपाली कांग्रेसले आमजनतालाई बुझाउन जरुरी छ । किनभने विपक्षीहरूले यो गठबन्धन किन बनेको हो भन्नेबारेमा अनेक किसिमका अफवाह फैलाइरहेका छन् ।’

केन्द्रीय सदस्य कोइरालाले संविधान संशोधन गर्दा भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूको सबलीकरण र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकार इतिहासकै न्यूनतम भ्रष्टाचार भएको बनाउन कांग्रेसले कडा निगरानी गर्नुपर्ने बताए ।

उनले विगतमा भएको भनिएका भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कठोरतापूर्वक सरकार अघि बढ्नुपर्ने बताए । त्यसका लागि नीतिगत भ्रष्टाचारमात्र हेर्ने गरी बेग्लै स्वतन्त्र, स्वायत्त र अधिकार सम्पन्न निकाय गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर