बंगलादेशका हिन्दूको सुरक्षा निगरानी गर्न भारतले बनायो समिति
काठमाडौं । भारतले बंगलादेशमा भएको हिंसामा परेका हिन्दूहरुको निगरानी गर्न समिति बनाएको छ । भारतीय अखबार इण्डिया टुडेका अनुसार यो खबर शुक्रबार भारतीय गृहमन्त्री अमित शाहले जानकारी दिएका हुन् ।
बंगलादेशबाट भारतमा आएकाहरुको सीमामा निगरानी गर्ने, बंगलादेशका हिन्दूको सुरक्षाको बारेमा चासो दिने तथा बंगलादेशमा भत्काइएका मन्दिरहरुको बारेमा जानकारी राख्नेलगायतका मुद्दाहरु यो समितिले हेर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको सीमा सुरक्षा बलको पूर्व कमाण्डका सहमहानिर्देशकले समितिको नेतृत्व गर्ने मन्त्री शाहले बताएको इण्डिया टुडेले जानकारी दिएको छ । गत सोमबार अर्थात अगस्त ५ मा शेख हसिनाले देश छोडेसँगै बंगलादेशका धार्मिक अल्पसंख्यक खासगरी हिन्दूहरुमा व्यापक हमला भएको खबर सार्वजनिक भएका थिए ।
हिन्दू महिलाको अपहरण, हिन्दू नेताको हत्या, मन्दिरमा आगजनीदेखि हिन्दू धर्मका मान्छेको घरमा तोडफोड, लुटपाट र आगजनीसम्म भएका खबर भारतीय तथा बंगलादेशी अखबारहरुले सार्वजनिक गरेका छन् । १७ करोड जनसंख्या भएको बंगलादेशमा साढे दुई करोड हिन्दू भएको विश्व हिन्दू महासंघ बंगलादेश शाखाले हालसालै एक सूचनामार्फत जानकारी दिएको थियो ।
बंगलादेशमा भएको हिन्दूमाथिको हिंसाको विरोधमा यूरोपेली संघका ढाकामा भएका कूटनीतिज्ञहरु तथा भारतले गम्भीर चासो र चिन्ता देखाएका छन् ।