मुख्मन्त्रीसहित लुम्बिनीका सबै मन्त्री थप २ दिन काठमाडौं बस्ने, प्रधानमन्त्री बिरामी भएपछि आइतबारलाई सर्‍यो छलफल – Nepal Press

मुख्मन्त्रीसहित लुम्बिनीका सबै मन्त्री थप २ दिन काठमाडौं बस्ने, प्रधानमन्त्री बिरामी भएपछि आइतबारलाई सर्‍यो छलफल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका सबै मन्त्रीहरु थप दुई दिन काठमाडौंमै बस्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सबै मन्त्रीहरुलाई राखेर विशेष छलफल गर्ने योजना बनाएपछि बिहीबार सबै मन्त्री काठमाडौं पुगेका हुन् । लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ जना मन्त्री रहेकोमा अहिले सबै जना काठमाडौंमा गएपछि प्रदेशका सबै मन्त्रालय सुनसान भएका हुन् ।

प्रदेशमा संघीयता कार्यान्वयनको ७ वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ काठमाडौंमा जुटेको यो पहिलो पटक हो । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास मन्त्री रोज राणा र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बुधबार नै काठमाडौं पुगेका थिए । अन्य मन्त्री भने बिहीबार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँग शुक्रबार भेट्ने कार्यक्रम रहेपनि उनको स्वास्थ्यमा समस्या आएपछि त्यो कार्यक्रमलाई आइतबार सारिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई साय सारिएको बताए ।

‘हामी सबै यतै छौं, प्रधानमन्त्रीज्यूसँग आज भेट्ने कार्यक्रम उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ’ उनले भने । प्रधानमन्त्री ओलीले यसअघि बागमतीका सबै मन्त्रीहरुलाई यसैगरी सामुहिक भेटेका थिए ।

प्रदेश सरकारले संघीय सरकारबाट गत आवमा दिनुपर्ने समानीकरण अनुदानतर्फको २ अर्ब १० करोड रुपैयाँ रकम नदिएपछि त्यही रकम माग गर्न मुख्यमन्त्री आचार्यसहितको टोली काठमाडौं गएको थियो । त्यस क्रममा उनीहरूले अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई भेटेर समानीकरण अनुदान तर्फको रकम चालु आवमा तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई काठमाडौंमै बोलाएर प्रदेशको अवस्थाको जानकारी लिने र आवश्यक निर्देशन दिने तयारी गरिरहेका थिए । त्यसै क्रममा लुम्बिनीका केही मन्त्री काठमाडौंमै रहेको र शुक्रबार ४ बजेको समय उपलब्ध भएपछि प्रधानमन्त्रीकै तालिकाअनुसार अन्य मन्त्रीलाई पनि शुक्रबार काठमाडौं बोलाइएको तर समय पुनः नमिलेपछि आइतबारलाई सारिएको बताए ।

लुम्बिनी सरकारको ढुकुटी रित्तिएपछि गत आवको असार २१ गते नै बजेट भुक्तानी रोकेको थियो । त्यसले लुम्बिनीका निर्माण व्यवसायी र उपभोक्ताले काम सम्पन्न गरेपनि साढे २ अर्ब रकम भुक्तानी पाउन सकेका छैनन् । प्रदेशका सबै मन्त्रालय खाली नै गराएर मुख्यमन्त्री र मन्त्रीहरू काठमाडौं गएको भन्दै आलोचना भएको छ । शुक्रबार प्रधानमन्त्रीसँग भेट नभएपछि मन्त्रीहरुले आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर