संघीय निजामती ऐनको माग गर्दै कर्मचारी संगठन रुपन्देहीद्वारा थालियो बृहत हस्ताक्षर अभियान – Nepal Press

संघीय निजामती ऐनको माग गर्दै कर्मचारी संगठन रुपन्देहीद्वारा थालियो बृहत हस्ताक्षर अभियान

रूपन्देही । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबारदेखि बृहत हस्ताक्षर अभियान सुरु गरेको छ ।

लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान सुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

उनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हानसमेत गरेका थिए ।

संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेखि सङ्घीय निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको संघ, प्रदेश र स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग गरेका थिए। आम राष्ट्रसेवक कर्मचारीले अघि सारेका मुद्दासहित सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनको भनाइ छ ।

संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले सङ्घीय ऐन जारी नहुँदा प्रदेश प्रदेशमा ऐन जारी भइसकेता पनि कार्यान्वन गर्न जटिलता उत्पन्न भएको टिप्पणी गरेका थिए ।

संगठन रुपन्देहीले आफ्नो नियमित बैठकबाट आफूहरुलाई मार्ग दर्शन गर्ने ऐन नहुँदा निजामती सेवा भद्रगोल हुनुका साथै ऐन ल्याउन दवावमूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको महशुस गरी हस्ताक्षर अभियानको थालनी गरेको बताउँदै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुका साथै राष्ट्रिय स्तरका ट्रेड युनियनहरुलाई समेत उक्त अभियानमा एक्वेवद्धता प्रकट गर्न अनुरोध गरेका थिए ।

अभियानको क्रममा अध्यक्ष खनालले ऐन जारी गर्ने विषयमा निरन्तर दबाब सिर्जना गर्न रुपन्देही संगठन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर अभियान समेत एक दवावमूलक कार्यक्रम रहेकोले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर