अप्राविधिकलाई इन्जिनियिरिङ अध्ययन संस्थानको निमित्त डिन बनाएपछि चर्कियो विरोध – Nepal Press

अप्राविधिकलाई इन्जिनियिरिङ अध्ययन संस्थानको निमित्त डिन बनाएपछि चर्कियो विरोध

मेरिटोक्रेसीबाट आएका भनिएका उपकुलपतिले आइओइमा राजनीति गरेको आरोप,धराशायी भएको इन्जिनियरिङ अध्ययन क्षेत्र थप कमजोर बन्ने चिन्ता

काठमाडौं । मेरिटोक्रेसीका आधारमा नियुक्त भएका भनिएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले इन्जिनियरिङ अध्ययन संस्थाको डिनमा गैर प्राविधिक व्यक्तिलाई नियुक्ति दिएपछि विवादित बनेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले आइतवारदेखि नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिँदैछ । नेपालमा इन्जिनियरिङ कलेजहरु नै खाली भइरहेका बेला यस्तो संवेदनशील संकायको डीनमा असम्बन्धित व्यक्तिलाई जिम्मा दिएपछि त्रिवि नेतृत्व विवादमा परेको हो ।

इन्जिनियरिङ कलेजमा विद्यार्थी नभएको र विश्वविद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रम ल्याउन नसकेको बेला राजनीतिक ढंगबाटै डीन नियुक्त गरिएको आरोप छ । इन्जिनियरिङ सस्थान जस्तो प्राविधिक संस्थाको डिनमा गैर प्राविधिक डा.विनोद कुमार भट्टराईलाई निमित्त दिइएको छ ।

गत साउन १२ गते निवर्तमान डिन प्राध्यापक डा.शशीधर राम जोशीको कार्यकाल सकिएपछि रिक्त रहेको ठाउँमा सहायक डिनमा रहेका भट्टराईलाई निमित्त दिइएको हो । उनी इन्जिनियरिङ नभएर विज्ञान संकायका हुन् ।

प्राविधिक संस्थानमा प्राविधिक नै अर्थात इन्जिनियरिङ पृष्ठभूमि भएकालाई डिनको जिम्मेवारी दिने अभ्यासलाई यसपटक त्रिवि नेतृत्वले लत्याएर पहिलोपटक गैर प्राविधिकलाई नियुक्ति दिइएको हो ।

भट्टराई पुल्चोक क्याम्पसकाे अप्लाईड साइन्स तथा केमिकल इन्जिनियरिङ विभागमा भौतिकशास्त्र विषय अध्यापन गराउछन। उनले आफ्नो डाक्टोरियल उपाधिपनि भौतिक शास्त्रमै हासिल गरेका हुन्।

भट्टराई भन्दा सिनियर सहायक डिनहरु हुँदा हुँदै मेरिटोक्रेसीको नाममा इतिहासमै पहिलोपटक गैर प्राविधिक डिन बनाइएकोमा सो क्षेत्रका शिक्षक,कर्मचारी र विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।

त्रिवि नेतृत्वको गलत निर्णय तत्काल सच्याउन एमालेनिकट अनेरास्ववियुले विज्ञप्तिमार्फत चेतावनी नै दिएको छ । प्राविधिक विद्यार्थी संघ सानका अध्यक्ष बिशाल आचार्यले विज्ञप्ति जारी गर्दै मेरिटोक्रेसीबाट जुनिएका भनिएका उपकुलपतिले राजनीतिक पुर्वाग्रह राखी आइओइ जस्ताृ अग्रणी प्राविधिक संइस्थामा अप्राविधिक निमित्त डिन नियुक्त गरेर सबै नीति नियम कुल्चिएको आरोप लगाएका छन् ।

पुल्चोक क्याम्पसकै सहायक प्राध्यापक शुक्र पौडेलले सामाजिक संजालबाटै सो प्रक्रियाको विरोध गर्दै यसलाई बडा हाकिमको चरम लज्जास्पद नियुक्ति भनेका छन् ।

आइओइको परीक्षामा अमर्यादित काम गरेको भनेर सार्वजनिकरुपमै विवादमा परेका व्यक्तिलाई विषम परिस्थितिमा निमित्त डिनको जिम्मेवारी दिइएकोमा विरोध चुलिएको हो । यसले धराशायी बन्दै गइरहेको इन्जिनियरिङ क्षेत्र थप क्षयीकरण हुने विज्ञहरुको चिन्ता छ । उनी यसअघि निजी इन्जिनियरिङ कलेजको लगानीकर्ताका रुपमा पनि विवादमा आएका थिए ।

माओवादीको जोडबलमा सहायक डिन बनेका भट्टराई इन्जिनियरिङका क्याडर होइनन् । जबकी सोही विभागमा सहायक डिनकै रुपमा इन्जिनियरिङका प्राध्यापक डा.सुशील बहादुर बज्राचार्य निमित्त डिनका लागि योग्य थिए । तर राजनीतिक कारण उनलाई नदिएर अप्राविधिकलाई नित्ति डिन बनाइएको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर