विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् ।
ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन)सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक-उपासिकाहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया र परोपकारभाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरु थप सामयिक भएको बताए ।
खराबी उन्माद, आक्रोश र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवीयता र आत्मीय भाव देखाउन सके विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘आज विश्वमा मानवीय उन्माद र स्वार्थ प्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्दीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’
उनले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनाशमात्रै निम्त्याउने औंल्याए ।
बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान शुभकामना दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए । प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए ।