माओवादीको निष्कर्ष- संसदीय परिपाटीबाट प्रदूषित भयौं, शुद्धीकरण अभियान चलाउनुपर्छ (भिडिओ) – Nepal Press

माओवादीको निष्कर्ष- संसदीय परिपाटीबाट प्रदूषित भयौं, शुद्धीकरण अभियान चलाउनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । जारी स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रममा नेताहरुले पार्टीलाई सुदृढ बनाएर जानुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘परिस्थिति पेचिलो र जटिल हुँदैछ । राष्ट्रियता र लोकतन्त्र जनताको जनजीविकाको सम्बन्धमा पनि त्यसलाई सामना गर्न पार्टी नै सवल हुनुपर्छ । त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्छ । कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदूषित भएका छौं । त्यो प्रदूषणबाट मुक्त गर्न शुद्धीकरण अभियान चलाउनुपर्छ । त्यो अभियान पार्टीको मात्रै नभइ राज्यको पनि हो ।’

प्रवक्ता सापकोटाले आन्दोलनलाई नयाँ ढंगले परिभाषित गरेर सञ्चालन गर्नुपर्नेमा नेताहरुले जोड दिएको सुनाए ।

उनले थपे, ‘सदन र सडक जोड्ने स्पष्ट नीति, योजना र कार्यक्रमसहित जनतामा जानुपर्छ । विगतका अनुभवहरुलाई पनि फेरि अध्ययन गर्नुपर्छ ।’

नेता सापकोटाले बैठकमा नेताहरुले बृहत् वामपन्थी एकीकरणको विकल्प नभएको बताएको पनि सुनाए ।

उनले भने, ‘समाजवादी मोर्चामा रहेकाहरुसँग पनि कुरा भइरहेको र नेकपा एसका अध्यक्ष माधव नेपाल विप्लवसहित बृहत् एकीकरणको लागि तीव्र पहलकदमी लिनुपर्छ भन्ने कुरा पनि राख्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर