आफूहरुविरुद्ध बढेको हिंसाको विरोधमा निरन्तर सडकमा बंगलादेशी हिन्दू समुदाय
काठमाडौं । बंगलादेशमा भएको हिन्दूहरुमाथिको हिंसाको विरोधमा भएको आन्दोलनले निरन्तरता पाएको छ । शुक्रबार सुरु भएको आन्दोलनले शनिबार पनि सडक तताएको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ ।
डेली स्टारका अनुसार हिन्दूहरुको सुरक्षाको माग गरेर आन्दोलन गर्नेहरुमा हिन्दू समुदाय, विद्यार्थीहरु छन् । उनीहरुले बंगलादेशको राजधानी ढाकाको साबाग क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
गत सोमबार शेख हसिनाले सत्ता र देश छोडेपछि हिन्दूहरुमाथि हिंसा बढेको छ । हिंसामा परेर हिन्दू नेताहरुको हत्या, मन्दिर तथा हिन्दू घरहरुमा लुटपाट तथा आगजनी भएको खबर आमसञ्चार तथा समाजिक सञ्जाल सबैमा सार्वजनिक भएका छन् ।
आन्दोलनरत पक्षधरहरुले हिन्दू तथा हिन्दू मन्दिरहरुको रक्षा हुनुपर्ने, अल्पसंख्यकहरुको आयोग तथा मन्त्रालय हुनुपर्नेलगायतका माग राखेका छन् । यस्तै संसदमा १० सीट अल्पसंख्यकलाई दिन पनि उनीहरुको माग रहेको डेली स्टारले उल्लेख गरेको छ ।