जेलमा रहेका सहकारीका अध्यक्षसँग संसदीय छानबिन समितिले लियो बयान
काठमाडौं । बचतकर्ताको रकम दुरुपयोग गरेर २०८० भदौ २० गतेदेखि नख्खु कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गरेको छ ।
समितिका सभापति सूर्य थापाका अनुसार शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् ।
तुलसी सहकारीविरुद्ध एक हजार १४५ जना बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तुलसी सहकारीमार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २०८० साल भदौ २० देखि कारागारमा छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा शुक्रबार संसदीय छानबिन विशेष समितिको ३३औं बैठकले विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार रहेका अध्यक्ष र पदाधिकारी तथा सञ्चालकहरूसँग सोधपुछ शुरू गरेको थियो ।