संसदीय समितिमा उठ्यो तारागाउँ विकास समितिको जग्गा प्रकरण छानबिनको माग (भिडिओ)
काठमाडौं । सांसदहरूले तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरेपनि प्रतिफल आउन नसकेको सांसदहरूको भनाइ छ ।
बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए । राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने भन्दै उनले यसमा सरकारको स्पष्ट दृष्टिकोणसमेत माग गरे ।
त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सवै मन्त्री, प्रधानमन्त्रीलाई जानकारी रहेको भन्दै सवैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए ।
समिति सभापति राजकिशोर यादवले तारागाउँ र होटलबीच भएको लिग सम्झौताका विषयमा पर्यटन मन्त्रालयले कार्ययोजना बनाउने र त्यसआधारमा अर्को बैठकमा छलफल गर्ने बताए । तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरी समाधानका योजनासहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।