बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा
बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलासैनीमा दुई घर भत्किएका छन् । डिलासैनी गाउँपालिका वडा नं. ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगेको बताए।
पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।
डिलासैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनर्स्थापनाका काम गरिने बताए ।
यसैबीच वर्षातका समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।